वीरेन्द्रनगर । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार लेखेकै कारण पत्रकार विष्णु न्यौपानेलाई धम्की आएपछि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले आपत्ति जनाएको छ ।
अन्नपूर्ण पोस्टमा कार्यरत पत्रकार महासंघ कर्णाली प्रदेश समितिका सचिव समेत रहेका पत्रकार न्यौपानेको चैत्र १२ गते ‘ विदेशी सहयोगको चरम दुरुपयोगःसमिजिक संस्थाका नाममा आफन्त्त र परिवारको रजगज ‘ शीर्षकमा समाचार सम्प्रेषण भएपछि न्यौपानेलाई सामाजिक सञ्जालमा गाली गलौज आउन थालेको महासंघ केन्द्रीय समितिको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा सोही समाचारलाई लिएर कोपिला भ्यालीका प्रबंध निदेशक टोपबहादुर मल्लका आफन्त प्रकाश सिंह,लोकजंग सिंह ठकुरी लगायतले सामाजिक सञ्जालमार्फत धम्क्याउने,अपशब्द प्रयोग गर्ने तथा भौतिक कारबाहीको धम्की दिनेजस्ता हर्कत गरी मनासिव यातना दिने गरेकाले आफू असुरक्षित महसुस गरेको भन्दै पत्रकार न्यौपानेले जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिएका छन् ।
प्रेस स्वतन्त्रता ठाडो चुनौती दिने र पत्रकारलाई हतोत्साहित बनाउनेप्रति महासंघ केन्द्रीय समितिले भत्र्सना गरेको छ । साथै घटनाको छानविन् गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन तथा पत्रकारलाई सुरक्षा र स्वतन्त्रताको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग अपिल गरेको छ ।
संवाददाता । बुधबार, चैत १३, २०८१ मा प्रकाशित