काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै रहर गरेर राजतन्त्र पुनः स्थापित नहुने बताएका हुन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको मानव अधिकार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले बिपी कोईराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोईराला लगायतका धेरै नेपालीहरूले लडेर नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको भन्दै अब यो व्यवस्था हट्न नसक्ने दाबी गरे । उनले सम्पूर्ण नेपाली जनताले संविधान सभामार्फत जनताको इच्छाअनुसार गणतन्त्र आएको भन्दै कसैले रहर नगर्न आग्रह गरे ।

उनले गणतन्त्र नेपाली जनताले मानिसकेको भन्दै पूर्वराजा शाहलाई राजतन्त्र फर्किने आस नगर्न आग्रह गरे । उनले देशमा प्राप्त समावेशी, समानुपातिक प्रतिनिधित्व भएको र हिमाल, पहाड, तराईका सबै अटाउने गणतन्त्रात्मक संविधान बनेको उल्लेख गर्दै अब देशमा कुनै किसिमको डर नरहेको बताए । कुनै हालतमा पनि प्रजातन्त्र हट्न नसक्ने दाबी गर्दै प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रलाई स्थायी गराउने काममा लाग्न आग्रह गरे ।
सभापति देउवाले भने ‘बिपी कोईराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोईराला लगायतका सबै साथी भाइहरू लडेर हामीले नेपालमा अहिलेको व्यवस्था ल्याएका छौँ । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याएका छौँ । कसैले रहर गरेर हुनेकुरा छैन । यो सम्पूर्ण नेपाली जनताले संविधान सभामार्फत जनताको इच्छाअनुसार गणतन्त्र आएको हो । यो हट्नेवाला छैन, हट्नेकुरा पनि छैन । नेपाली जनताले मानिसकेको हुनाले कसैले आशा नगरे हुन्छ । मैले भनिसकेको छु, धेरै कुरा भन्नेकुरा छैन । हाम्रो देशमा प्राप्त समावेशी, समानुपातिक प्रतिनिधित्व भएको संविधान छ । हिमाल, पहाड, तराईका सबै अटाउने गणतन्त्रात्मक संविधान बनेको छ । हाम्रो देशमा कुनै किसिमको डर, त्रास छैन । राजाले कु गर्छन् भने जस्तो हाम्रो राष्ट्रपतिले कु गर्न सक्दैन । कुनै हालतमा पनि प्रजातन्त्र हट्ने कुरा छैन । यो आएको प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र छ, यसलाई स्थायी गराउने काममा लाग्नुपर्छ ।’
सभापति देउवाले नेपालको संविधानमा सबैको प्रतिनिधित्व रहेको बताए । संविधान प्रदत्त अधिकारहरूमा पनि सबैलाई सहभागी गराइएको बताए ।
संवाददाता । बिहिबार, चैत १४, २०८१ मा प्रकाशित