काठमाडौँ । नेपाल सरकारको गृह मन्त्रालयले आज पूर्व राजाका समर्थकहरूद्वारा काठमाडौँको तीनकुने क्षेत्रमा आयोजित हिंसात्मक प्रदर्शनप्रति गम्भीर चासो व्यक्त गर्दै यस्ता गतिविधिको कडा निन्दा गरेको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा संविधानले प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा शान्तिपूर्वक भेला हुने अधिकारको दुरुपयोग गरी भएको तोडफोड र आगजनीका घटनाहरूलाई गैरकानूनी, अमानवीय र घोर भर्त्सनायोग्य भनेको छ।
मन्त्रालयका सहसचिव छवि रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार प्रदर्शनका क्रममा निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र र यातायातका साधनहरूमाथि भएको आक्रमणका लागि आयोजकहरू पूर्ण रूपमा जिम्मेवार रहेका छन्। “यस्ता हिंसात्मक एवं आपराधिक घटनाहरूले संविधानले प्रत्याभूत गरेको लोकतान्त्रिक अधिकारको उपहास गरेको छ,” विज्ञप्तिमा उल्लेख छ।
नेपालको संविधानले सबै वर्ग, जाति, भाषा, लिङ्ग, क्षेत्र र धार्मिक समुदायका अधिकारको संरक्षण गर्दै लोकतान्त्रिक शासन व्यवस्थाको मार्ग प्रशस्त गरेको स्मरण गरी मन्त्रालयले शान्तिपूर्ण तरिकाले विचार व्यक्त गर्नुपर्नेमा जोड दिएको छ। “हिंसापूर्ण र अराजनीतिक गतिविधिबाट कसैको हित हुँदैन,” विज्ञप्तिमा भनिएको छ।

सरकारले आम नागरिकलाई यस्ता गैरकानूनी गतिविधिमा संलग्न नहुन अपिल गर्दै कानून उल्लंघन गर्ने जोसुकैलाई पनि कानूनी दायरामा ल्याएर विधिको शासन कायम गर्ने प्रतिबद्धता जनाएको छ।
संवाददाता । शुक्रबार, चैत १५, २०८१ मा प्रकाशित