काठमाडौँ । कर्णाली प्रदेश सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएपछि बुधबार मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो वार्षिक कार्यप्रगति सार्वजनिक गरेका छन् ।
बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलनमार्फत ११ पृष्ठ लामो प्रगति विवरण ३२ मिनेटको भिडियो डकुमेन्ट्रिमार्फत सार्वजनिक गरिएको हो ।
२७ चैत २०८० मा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कँडेलले चार महिना नबित्दै २०८१ साउनमै सत्ता साझेदार दल फेर्न परेको थियो । अहिले काँग्रेससँगको सहकार्यमा कँडेल नेतृत्वको सरकार छ ।
मुख्यमन्त्री कँडेलले दोस्रो पञ्चवर्षीय योजना निर्माणदेखि विभिन्न १० वटा जिल्लामा गरेको भ्रमणलाई पनि उपलब्धिको रूपमा प्रस्तुत गरेका छन् ।

मुख्यमन्त्री कँडेलले प्रदेशमा सुशासन कायम गराउने सवालमा निर्मम भएर लागेको दाबी गरेका छन् । उनले जथाभाबी बजेट वितरण प्रवृत्तिमा रोक लगाएको, मनलाग्दी रकमान्तर रोकेको, उपभोक्ता समितिबाट हुने बदमासीलाई नियन्त्रण गरेको पनि प्रगति विवरणमा उल्लेख गरेका छन् ।
संवाददाता । बिहिबार, चैत २८, २०८१ मा प्रकाशित