वीरेन्द्रनगर । सेभ द चिल्ड्रेनको सामाजिक परीक्षण सम्पन्न भएको छ। शुक्रबार वीरेन्द्रनगरमा सरोकारवालाबीच सामाजिक परीक्षणको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको हो। सेभ द चिल्ड्रेनले नेपालमा गरेको यो पहिलो सामाजिक परीक्षण हो। सुर्खेतपछि अन्य सेवा क्षेत्रमा सामाजिक परीक्षण गरिनेछ।
एपी कन्सल्ट काठमाडौंले संस्थाको सामाजिक परीक्षणका लागि परामर्शदाताको रुपमा काम गरेको थियो। उक्त कन्सल्टले अध्ययनपछि प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो।
सामाजिक परीक्षणका लागि नियुक्त परामर्शदाता दुर्लभकुमार बोगटीले संस्थाका सेभ द चिल्ड्रेनको सेवा क्षेत्रमा पुगेर सहभागितामुलक अन्तक्र्रिया गरिएको बताए। परामर्शदाताका रुपमा आफूले स्वतन्त्र भएर अध्ययन गर्ने अवसर पाएको उनले बताए।
सेभ द चिल्ड्रेनसँग परियोजना कार्यान्वयनका लागि सहकार्य गरिरहेको साझेदार गैरसरकारी संस्थाहरु, लाभग्राहीहरुसँग अन्तवार्ता गरी सामाजिक परीक्षणको प्रतिवेदन तयार गरिएको बोगटीले बताए।
सेभ द चिल्ड्रेन फिल्ड कार्यालय सुर्खेतका प्रमुख रत्नराज ओझाले नेपालमा संस्थाले आफ्नो सेवा सुरुआत गरेको ठाउँबाटै पहिलो अडिट गरिएको बताए। सन् १९१९ मा स्थापना भएको संस्थाले नेपालमा १९७६ देखि सेवा सुरु गरेको थियो। पहिलोपटक स्वास्थ्यका क्षेत्रमा सुर्खेतबाट सेभले सेवा सुरु गरेको थियो।

उनका अनुसार बालबालिकाको अधिकारका लागि सन् २०३० सम्मको संस्थाले राखेका उद्देश्य पूरा गर्न सहकार्य गरिरहेको छ।
सेभ द चिल्ड्रेन विशेषगरि मधेश र कर्णाली प्रदेशमा केन्द्रित रहेको छ। सुर्खेतमा रहेको फिल्ड कार्यालयमार्फत कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका २७ वटा पालिकामा आफ्नो सेवा सञ्चालन गरिरहेको छ।
कार्यक्रममा सेभद चिल्ड्रेन नेपाल–भुटान कन्ट्री कार्यालयका निर्देशक तारा क्षेत्रीले कर्णालीका बालबालिकाको लागि अझ राम्रो काम गर्न संस्थाले निरन्तर सहकार्य गर्ने बताइन्।
‘हामीले अहिले बालबालिकाको अधिकारको क्षेत्रमा काम गरिरहेका छौं, उनीहरुको शिक्षा, स्वास्थ्य, हेरचाह जस्ता महत्वपूर्ण अधिकार प्राप्तीका क्षेत्रमा सेभ द चिल्ड्रेन सचेत छ,’ निर्देशक क्षेत्रीले भनिन्, ‘सामाजिक परीक्षणका क्रममा सरोकारवालाबाट आएका सुझावका आधारमा कर्णालीका बालबालिकाको लागि अझ राम्रो काम गर्न अगाडि बढ्नेमा प्रतिबद्ध छौं।’
सेभद चिल्ड्रेन नेपाल–भुटान कन्ट्री कार्यालयका उपनिर्देशक अर्चना शर्माले कार्यक्रमका सहभागीबाट उठेका प्रश्नहरुको जवाफ दिएकी थिईन्।
सेभद चिल्ड्रेनको नेपाल–भुटान कन्ट्री कार्यालयका निर्देशक तारा क्षेत्रीको अध्यक्षता तथा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको प्रमुख आथित्यतामा भएको उक्तसामाजिक परीक्षणमा सेभ द चिल्ड्रेनसँग साझेदारी गरिरहेको विकास साझेदार संस्था, समूह, परियोजना सञ्चालनमा रहेका पालिकाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।
संवाददाता । शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित