काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरिक्षमा पनि आफ्नै ‘स्याटेलाइट’ पठाउने प्रयास सुरु भएको बताएका छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ का अवसरमा प्रधानमन्त्रीले यसबारे जानकारी गराएका हुन् ।
“एक लाइन टेलिफोन पाउन मन्त्रीको तोक लगाउनुपर्ने अवस्थाबाट हामी धेरै अघि बढिसकेका छौँ । अन्तरिक्षमा पनि आफ्नै ‘स्याटेलाइट’ पठाउने प्रयास सुरु भएको छ । यस क्षेत्रमा नयाँ पुस्ताका हस्ती तयार भइसकेका छन्,” उनले भने, “हामी आत्मविश्वासका साथ अघि बढौँ । सूचना प्रविधिका क्षेत्रमा थप दक्ष जनशक्ति उत्पादन र तालिममा जोड दिँदै जानेछौँ । अब मुलुकको समृद्धिका लागि कुनाकुनाका जनजनमा विकास र सुशासनका लागि सूचना तथा सञ्चार प्रविधिको विस्तार र प्रयोगमा जानुपर्छ । सूचना र प्रविधिको दुरुपयोग गरेर व्यक्तिको हुर्मत लिने प्रवृत्तिबाट चाहिँ सचेत हुनुपर्छ ।”

संवाददाता । शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित