सुर्खेत । सिम्ता गाउँपालिका वडा नं. ८ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्वास्थ्य सेवा पहुँचविहीन बस्तीमा विशेषज्ञ उपचार पुर्याउने उद्देश्यले आयोजना गरिएको शिविरमा झन्डै तीन सय जना बिरामीको निःशुल्क उपचार गरिएको हो।
सिम्ता गाउँपालिका वडा नं. ८ को आयोजनामा नेपाल प्रेस युनियन सुर्खेत, स्वास्थ्य पत्रकार समाज कर्णाली प्रदेशको सहकार्य तथा सुर्खेत उद्योग वाणिज्य संघ र नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
यस वडामा पहिलोपटक सात जना विशेषज्ञ चिकित्सकसहितको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको हो।
शिविरमा बरिष्ठ नाक, कान घाटी रोग विशेषज्ञ डा. पारस पौडेल, बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. शुभ श्रेष्ठ, बरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. नम्रता भट्टराई र बरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. कृतिका थापाले सेवा दिनुभएको हो। यस्तै मेडिकल अधिकृत डा दिलिप कुमार शाह र डा अमृत कर्ण तथा फिजियोथेरापिष्ट डा कैलास सिराले विरामीलाइ सेवा दिनुभएको थियो।
शिविरमा स्त्री रोग, मधुमेह, उच्च रक्तचाप, नसा, हाडजोर्नी, र सर्दी–ज्वरोजस्ता समस्या लिएर आएका बिरामीको परीक्षण, परामर्श र औषधि वितरण गरिएको थियो।

स्वास्थ्य शिविरमा सिम्ता–८ का साथै आसपासका वडाबाट आएका बिरामीले सेवा लिएका थिए। गाउँमै विशेषज्ञ उपचार सेवा उपलब्ध हुँदा स्थानीयहरू हर्षित भएका छन्।
स्वास्थ्य शिविरबाट विशेषज्ञ सेवा लिएपछि स्थानीय पार्वती नेपालीले भन्नुभयो, “यसअघि नसाको उपचारका लागि सहर जानुपर्थ्यो, अहिले गाउँमै सेवा पाएर राहत महसुस भएको छ।” ६१ वर्षीय भीमबहादुर खत्रीले शिविर नियमित हुनुपर्ने सुझाव दिनुभयो। उहाँले भन्नुभयो, “गाउँमै यस्तो सेवा पाइँदा खर्च, समय र झन्झट सबैबाट मुक्ति पाइन्छ।”
वडा अध्यक्ष चेतबहादुर रेग्मीले सिम्ता–८ मात्र नभई छेउछाउका वडाका नागरिकले पनि लाभ लिएको जानकारी दिनुभयो। उहाँले आर्थिक अवस्था कमजोर भएकाहरूका लागि यस्तो कार्यक्रम विशेष प्रभावकारी रहेको बताउनुभयो।
गाउँपालिका अध्यक्ष ऐनबहादुर चन्दले नागरिकले घरदैलोमै स्वास्थ्य सेवा पाएकोमा खुसी व्यक्त गर्दै आगामी वर्षको बजेटमै निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमलाई निरन्तरता दिने तयारी भइरहेको जानकारी दिनुभयो।
शिविरबाट २२५ जना महिला र ५७ जना पुरुष सेवा लिएको जनाइएको छ।
संवाददाता । आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित