नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको विकल्प अरु कुनै व्यवस्था हुननसक्ने बताएका छन् ।
एमालेसम्बद्ध भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनको आज टीकापुरमा उद्घाटन गर्दै उनले जनताको अधिकार स्थापना र जनचाहनाअनुसार विकास गर्न लोकतन्त्रको विकल्प नरहेको बताए ।
महासचिव पोखरेलले हाल केही व्यक्तिले लोकतन्त्रको विकल्प राजतन्त्र भनेर चर्चा गरिरहेकामा त्यो परिवर्तित समय र चेतनाको आवाज नभएको जिकिर गरे । “लोकतन्त्रको विकल्प राजतन्त्र हुनसक्दैन । हाल जति पनि परिवर्तन भएको छ, त्यसको प्रमुख जग लोकतन्त्र नै हो”, उनको भनाइ थियो,“राजनीतिक स्थायित्व हुन नसक्दा प्रतिक्रियावादी शक्ति सलबलाउन थालेका छन् । अब देश विकासका लागि स्थिरताको खाँचो छ ।”

महासचिव पोखरेलले राजनीतिक स्थिरता भएका देशले नै छिटो प्रगति हासिल गरेको उदाहरण पेस गर्दै अगाडि भने,“यहाँ स्थिर सरकार बन्न सकेको छैन । पाँच वर्षमा पाँच वटाभन्दा बढी सरकार बन्छन् । सयौँ मन्त्री हुन्छन् । हामीकहाँ पनि पाँच वर्ष एउटै पार्टी र नेतृत्वमा सरकार बन्नेको भए समृद्धिका लागि देखेका सपना पूरा गर्न सहज हुन्थ्यो ।” हाल संसद्का दुई ठूला पार्टी मिलेर स्थिरताको प्रयास भएको र यो सहमतिअनुसार नै अगाडि बढ्ने उनको भनाइ छ ।
देशमा रहेका सम्पूर्ण भूमिविहीनलाई जग्गाको मालिक बनाउने काम वर्तमान सरकारले पूरा गर्ने भन्दै महासचिव पोखरेलले दुई वर्षभित्र सबै भूमिसम्बन्धी समस्या समाधान गर्ने गरी भूमि आयोगले काम गरिरहेको उल्लेख गरे ।
भोलिसम्म सञ्चालन हुने महाधिवेशनमा देशका विभिन्न ६४ जिल्लाबाट छ सय प्रतिनिधिको सहभागिता रहेको छ ।
संवाददाता । मङ्गलबार, बैशाख २३, २०८२ मा प्रकाशित