Karnali Media
२०८३ भदौ ५ , शुक्रबार

कर्णाली राजमार्गको सिस्ने–साइगाउँ खण्ड आजदेखि दैनिक दुई पटक बन्द



दैलेख । कर्णाली राजमार्ग अन्तर्गतको सिस्ने–साइगाउँ सडकखण्डमा आज  देखि दैनिक दुईपटक सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय दैलेखले एक सूचना प्रकाशित गर्दै सडक निर्माण कार्यका कारण यो निर्णय गरिएको जानकारी गराएको हो। प्रशासनका अनुसार बिहान ८ बजेदेखि १२ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म सो सडक खण्ड बन्द रहनेछ।

सडक डिभिजन कार्यालय सुर्खेतबाट ठेक्का सम्झौता भई निर्माणाधीन रहेको यस सडक खण्डमा आवश्यक संरचना निर्माण तथा मर्मत सम्भारका लागि सवारी साधनको आवतजावत रोकिएको हो। निर्माण कार्य सहज रूपमा सञ्चालन गर्नका लागि निश्चित समयावधिमा राजमार्ग बन्द गर्नुपरेको प्रशासनले स्पष्ट पारेको छ।


सडक बन्दले दैनिक यात्रामा असर पार्न सक्ने भएकाले यात्रुहरू तथा सवारी साधन चालकहरूलाई वैकल्पिक मार्गको रूपमा रामघाट–साइगाउँ खण्ड हुँदै मध्यपहाडी राजमार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

प्रशासनले निर्माण कार्य सम्पन्न नभएसम्मका लागि यस्तो व्यवस्था लागू गरिएको भन्दै यात्रुहरूलाई असुविधा भएमा क्षमा याचना समेत गरेको छ।

यस सडक खण्डमा यात्रा गर्न चाहनेहरूले उल्लेखित समय र सूचनालाई ध्यानमा राखी आफ्नो योजना बनाउन प्रशासनले सुझाव दिएको छ।

प्रकाशित मिति : २०८२ वैशाख २८ गते आइतबार