वीरेन्द्रनगर । सुर्खेतमा जारी १६ वर्षमूनिको अन्तरविद्यालय क्रिकेट च्याम्पियनसिपअन्तर्गत नेपाल राष्ट्रिय आधारभूत विद्यालय चाँदनीचोक र डिभी निकेतन विद्यालय फाइनलमा पुगेका छन्। सोमबार भएको सेमिफाइनलमा आ–आफ्नो खेल जित्दै यी दुई टिम उपाधिको नजिक पुगेका हुन्।
पहिलो सेमिफाइनलमा चाँदनीचोकले हार्भेष्टमून माध्यमिक विद्यालयलाई १०७ रनको फराकिलो अन्तरले पराजित ग¥यो। चाँदनीचोकले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो। चाँदनीचोकका लागि कस्तुप खड्काले सर्वाधिक ७३ रनको योगदान दिए भने समिर ऐडीले ४१ रन बनाए।
बलिङतर्फ हार्भेष्टमूनका लागि रोहित जिसीले चार ओभरमा २३ रन खर्चिएर तीन विकेट लिए।
१६४ रनको लक्ष्य पछ्याएको हार्भेष्टमून ५६ रनमै अलआउट भयो। उसका लागि दुई जना ब्याट्सम्यानले क्रमशः १३ र १० रन बनाउनुबाहेक अरुले दोहोरो अंक छुन सकेनन्।
नेपाल राष्ट्रिय आधारभूत विद्यालय चाँदनीचोकबाट सहभागी नविन रोकायाले ४, करण दर्लामीले २, उज्वल तिमिल्सेना र जेनिस मल्लले एके क विकेट लिए।

सोमबार नै भएको दोस्रो सेमिफाइनलमा इगरब्रिज माध्यमिक विद्यालयलाई ६ विकेटले पराजित गर्दै डिभी निकेतनले पनि फाइनलमा स्थान पक्का गरेको छ। इगरब्रिजले दिएको ९८ रनको लक्ष्य डिभी निकेतनले १४।५ ओभरमा जम्मा चार विकेट गुमाएर पूरा गरेको थियो। उसका लागि भूपेन्द्र शाहीले सर्वाधिक ४३ रन बनाए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इगरब्रिजले ९ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन मात्रै बनाएको थियो। उसका लागि यसराज हमालले २२, सुदिप मगरले १८ र सुशासन कठायतले १४ रन बनाए।
डिभी निकेतनका गौरव बुढाले ४, विजय शाहीले २ तथा धिरेन्द्र शाही र प्रकाश रोकायले १/१ विकेट लिए।
उपाधिका लागि फाइनल खेल मंगलबार हुँदैछ। यो प्रतियोगिताबाट १६ वर्षमूनिको जिल्लास्तरीय टिम छनोट गरिनेछ।
संवाददाता । सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित