सुर्खेत । गएराती करिब ११ बजेतिर आएको असिना पानीसहितको हावाहुरीले सुर्खेतका विभिन्न स्थानमा घर र पूर्वाधारमा क्षति पुर्याएको छ भने एक महिला सामान्य घाइते भएकी छन्।
वीरेन्द्रनगर नगरपालिका–२ भुरेलीस्थित विष्णु सिंखडाको टिनले छाएको कच्ची तीनकोठे घरको छाना उडाएको छ। घरभित्र राखिएको अन्नपात र लत्ताकपडा समेत नष्ट भएको छ। घरभित्र सुतेकी उनकी ५० वर्षीया श्रीमती दुर्बता सिंखडा ईट्टा र टिनले लागेर घाइते भएकी छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको र उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिएका छन्।
यस्तै वीरेन्द्रनगर नगरपालिका–२ रेडियो नेपाल नजिक अशोक केसीको घर छेउमा निर्माण सामग्री राख्न बनाइएको जस्ताले छाएको ट्रससमेत हावाले उडाएको छ। ट्रस र छाना पूर्ण रूपमा क्षति भएको जनाइएको छ।

गएरातीकै हावाहुरी सहितको असिना पानीले वीरेन्द्रनगर नगरपालिका–९ स्थित काँक्रेबिहार क्षेत्रअन्तर्गत लाटिकोइलीबाट काँक्रेबिहार जाने भित्री सडकमा २–३ वटा रुख र एउटा विद्युतको पोल ढल्दा सडक अवरुद्ध भएको छ।
भेरीगंगा नगरपालिका–१० मा विजय परियारको एकतले जस्ताले छाएको घरको छाना पनि हावाहुरीले उडाएको छ।
प्रहरी र स्थानीयवासीको सक्रियतामा अन्य स्थानको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
संवाददाता । मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित