दैलेख । मनोनयन दर्ताको पहिलो दिन दैलेखमा पालिका चुनावका लागि ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लनभर प्रमुख पदका लागि ७, उपप्रमुखमा २, वडाध्यक्षमा २३, खुला सदस्यमा १२, महिला सदस्यमा ९ र दलित महिला सदस्यमा ११ जनाको उम्मेदवारी परेको छ ।
११ पालिका रहेको दैलेखका तीन वटा पालिकामा भने एक जनाले पनि उम्मेदवारी दर्ता नगराएका निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् । कुनै पनि पदमा उम्मेदवारी नपर्नेमा ठाँटीकाँध, डुङ्गेश्वर गाउँपालिका र आठबीस नगरपालिका रहेका छन् ।
६ वटा पालिकामा ७ जना प्रमुख र दुई वटामा एक एक जना उपप्रमुखले उम्मेदवारी दर्ता गराएका छन् । दुल्लु नगरपालिका राप्रपाकी नन्दकला योगी र गुराँस गाउँपालिकामा नेमकिपाकी पार्वती ओलीको उपाध्यक्ष पदमा उम्मेदवारी परेको छ ।
पालिका प्रमुखमा उम्मेदवारी दिनेहरुमा दुल्लु नगरपालिकामा राप्रपाका गणेश रेग्मी र स्वतन्त्र उम्मेदवार ओमबहादुर कार्की हुनुहुन्छ । पालिका प्रमुखमा उम्मेदवारी परेका पाँच पालिकामा गुराँस गाउँपालिकामा नेमकिपाका उदयजङ्ग शाही, महाबु गाउँपालिकामा स्वतन्त्र चेतप्रसाद जैसी, भगवतीमाई गाउँपालिकामा राजमोका नरबहादुर सिंहले दलीय प्रतिनिधित्व गर्दै उम्मेदवारी दिनुभएको छ ।
त्यसैगरी नौमूले गाउँपालिकामा विद्याप्रसाद शर्मा र भैरवी गाउँपालिकामा चेतप्रसाद जैसीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । त्यसैगरी जिल्लाभर २३ जनाले वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउँदा ६ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।
त्यस्तै ९० वडाका वडाध्यक्ष र सदस्यहरु समेत ४ सय ५० र २२ जना प्रमुख तथा उपप्रमुख समेत चार सय ७२ जना प्रत्यक्ष मतदानबाट जनप्रतिनिधि चुन्न यस पटक हिजो र आज उम्मेदवारी दर्ता गर्ने समय दिएको छ ।
संवाददाता । सोमबार, बैशाख १२, २०७९ मा प्रकाशित