Karnali Media
२०८३ असोज १३ , मंगलबार

कर्णाली प्रदेश अस्पतालमा दुई महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल जान बाध्य



वीरेन्द्रनगर । कर्णाली प्रदेश अस्पतालमा सिटी स्क्यान मेसिन दुई महिनादेखि बन्द हुँदा बिरामीहरू महँगो शुल्क तिरेर निजी अस्पताल जान बाध्य भएका छन्।

गत चैत्र ८ गतेदेखि सिटी स्क्यान मेसिन बिग्रिएपछि अहिलेसम्म मर्मत हुन नसक्दा सरकारी अस्पतालमा उपचार खोज्दै आएका बिरामीहरू निजी अस्पतालमा जानुपर्ने बाध्यता सिर्जना भएको हो।

सरकारी अस्पतालको तुलनामा निजी अस्पतालमा सिटी स्क्यान सेवा शुल्क दोब्बर भएपनि विरामीहरु सिटी स्क्यान मेसिन बिग्रदा महङ्गो शुल्क तिरेर नीजि अस्पताल धाउन बाध्य भएका हुन। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको प्रदेशकै ठूलो सरकारी अस्पतालमा सेवा बन्द हुँदा ग्रामीण भेगका बिरामीहरूलाई थप सास्ती भएको छ।


प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले सिटी स्क्यान मेसिन मर्मतका लागि चीनबाट उपकरण मगाइएको छ । साथै आगामी शुक्रबारदेखि सिटी स्क्यान सेवा सुचारु हुने तयारी भइरहेको बताएका छन्।

हाल सुर्खेतका कर्णाली केयर र देउती अस्पतालमा मात्र सिटी स्क्यान सेवा उपलब्ध रहेकाले त्यहाँ विरामीको चाप पनि बढिरहेको छ। धेरै बिरामीले लामो पर्खाइ वा थप खर्चका कारण सेवा नपाउने अवस्था समेत सिर्जना भएको छ।

कर्णाली प्रदेश अस्पतालको ढिलासुस्ती र कम प्राथमिकताका कारण सिटी स्क्यान मेसिन मर्मत नहुँदा बिरामीहरू लामो समयसम्म सास्ती भोग्न बाध्य भएका छन्।

प्रकाशित मिति : २०८२ जेठ १३ गते मंगलबार