Karnali Media
२०८३ असार १४ , आइतबार

विद्यार्थीले यातायातमा ४५ प्रतिशत भाडा छुटको माग राख्दै मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र



सुर्खेत । कर्णाली प्रदेशका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुटको व्यवस्था तुरुन्त कार्यान्वयन गर्न माग गरेका छन्। विद्यार्थीहरुले शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेललाई ध्यानाकर्षण पत्र बुझाउँदै उक्त माग अघि सारेका हुन्।

जन नमुना माध्यमिक विद्यालय, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र सुर्खेत बहुमुखी क्याम्पसका विद्यार्थीहरूले संयुक्त रूपमा मुख्यमन्त्री कार्यालय पुगेर ध्यानाकर्षण गराएका हुन्।

विद्यार्थीहरूले तीन प्रमुख मागहरू राखेका छन्। जसमा सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुटको व्यवस्था तत्काल कार्यान्वयन गर्ने, छुट कार्यान्वयनलाई पारदर्शी र प्रभावकारी बनाउने, अनुगमन प्रणाली लागू गर्ने, विद्यार्थीमैत्री नीति निर्माण र आवश्यक सहुलियत कार्यक्रमहरू विस्तार गर्ने रहेका छन्।


विद्यार्थीहरूले प्रदेश सरकारले विद्यार्थी हितका कार्यक्रमहरूलाई प्राथमिकतामा राख्नुपर्ने माग गर्दै भाडा छुटको व्यवस्था कागजमा मात्र सीमित नराखी व्यवहारमा उतार्न जोड दिएका छन्।

यदि मागहरू एक महिनाभित्र सम्बोधन भएनन् भने चरणबद्ध रूपमा शान्तिपूर्ण आन्दोलनको बाटो अवलम्बन गर्ने विद्यार्थीहरुले बताएका छन्।

ध्यानाकर्षण पत्र बुझाउनेमा जन नमुना माविका विद्यार्थी नारायण नेपाल, राजेश खत्री, प्रवेश सेजुवाल, नेपाल राष्ट्रिय माविका दिपेश थापा र सुर्खेत बहुमुखी क्याम्पसका निशान्त अधिकारी लगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०८२ जेठ १८ गते आइतबार