सुर्खेत । राज्यका हरेक अंङ्गमा महिलाको समान पहुँच हुनुपर्ने र विभेदको अन्त्यसँगै सहभागिताको सुनिश्चितता आवश्यक भएको महिलाहरुले बताएका छन् ।
आइतबार सुर्खेतमा आयोजित एक कार्यक्रममा महिलाका क्षेत्रमा आवाज उठाउने महिला प्रतिनिधिहरूले यस्तो बताएका हुन् । उनीहरुले अवसर र चुनौतीको वीचमा महिलाको समावेशी भूमिकाबारे गम्भीर छलफल गरे । शान्ति, न्याय र लोकतन्त्रको पक्षमा आवाज उठाउँदै आएको ’संकल्प’ नामक समावेशी महिला सञ्जालले कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा सहभागीहरूले महिलाको अधिकार, प्रतिनिधित्व, नीति निर्माणमा पहुँच र सामाजिक विभेद विरुद्धको संघर्षमा सञ्जालले खेल्न सक्ने भूमिकाबारे विचार राखे ।

विविध समुदाय, भाषा, पेशा, धर्म र भौतिक अवस्थाबाट आएकी महिलाहरूको साझा आवाजका रूपमा ‘संकल्प’ निर्माण गरिएको हो। १० वटा महिला नेतृत्वका संघसंस्थाहरूले मिलेर बनाएको यो सञ्जालले समावेशीकरणको सिद्धान्तलाई आत्मसात गर्दै महिलाका साझा सवालमा एकता ल्याउने प्रयास थालेको छ।
यही अवसरमा संकल्प कर्णालीको ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ। अध्यक्षमा खैरु निशा, उपाध्यक्षमा कृष्णमाया रावत, सचिवमा धनसरा शाही, कोषाध्यक्षमा कृष्णा बंशी मगर चयन भएका छन्। सदस्यहरूमा खगीसरा वली, शर्मिला वि.सी, आराधना सिंह र लक्ष्मी भण्डारी रहेका छन्। सदस्यहरूको चयन समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने आधारमा गरिएको हो।
कार्यक्रममा महिलाहरूले आ–आफ्ना समुदाय र पृष्ठभूमिका अनुभव साझा गर्दै सञ्जालप्रति विश्वास र प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमको समापनमा सहभागीहरूले संकल्पमार्फत प्रदेशमा महिलाको हकहितका विषयमा नीति तहदेखि व्यवहारिक तहसम्म बलियो दबाब सिर्जना गर्न सकिने विश्वास व्यक्त गरे।
सिर्जना बुढाथोकी । आइतबार, जेठ २५, २०८२ मा प्रकाशित