दैलेख । दैलेखका सरकारी कार्यालयमा आकस्मिक अनुगमन गर्दा ठूलो संख्यामा कर्मचारी अनुपस्थित र तोकिएको पोशाक नलगाएको भेटिएको छ।
जिल्ला प्रशासन कार्यालयले असार २ गते बिहान १०ः१५ देखि ११ः०० बजेसम्म १८ सरकारी कार्यालयमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा ९७ कर्मचारी अनुपस्थित रहेको र उपस्थितमध्ये ६७ जनाले तोकिएको पोशाक नलगाएको पाइयो। यसले कर्मचारी अनुशासनमाथि प्रश्न उठाएको छ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेका अनुसार केही कर्मचारी हाजिरी गरेर पनि कार्यकक्षमा अनुपस्थित थिए। अनुगमन गरिएका कार्यालयमा जिल्ला समन्वय समिति, कोष तथा लेखा नियन्त्रक कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला हुलाक कार्यालय, पूर्वाधार विकास कार्यालय, स्वास्थ्य सेवा कार्यालय, कृषि विकास कार्यालय, नारायण नगरपालिका, नेपाल टेलिकमलगायत छन्।
जिल्ला प्रशासनले सम्बन्धित कार्यालय प्रमुखसँग स्पष्टीकरण मागेको छ र प्रचलित कानूनअनुसार कारबाहीको सिफारिस गर्ने तयारी गरेको छ। पछिल्लो समय सेवाप्रवाहमा नागरिक गुनासो बढिरहेका बेला कर्मचारीको अनुपस्थिति र अनुशासनहीनताले समस्या झनै चर्काएको छ। यसलाई नियन्त्रण गर्न सम्बद्ध निकायले प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ।
संवाददाता । सोमबार, असार ०२, २०८२ मा प्रकाशित