तुलसीपुर । प्राकृतिक विपत्ति र बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै ट्राफिक प्रहरी कार्यालय तुलसीपुर, दाङले सवारी दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्यले “सुरक्षित यात्राका लागि स्मरण” कार्यक्रम सञ्चालन गरेको छ।
यो कार्यक्रम बिहिबार तुलसीपुर उपमहानगरपालिका–६ स्थित बसपार्कमा सम्पन्न भएको हो। कार्यक्रममा पहाडी भेग तथा लामो दूरीमा सवारी सञ्चालन गर्ने करिब ५० जना चालक र सहचालकहरू सहभागी भएका थिए।
ट्राफिक प्रहरीका अनुसार बर्षायाममा सडक अबरुद्ध हुने, सवारी अनियन्त्रित हुने, तथा चालकको असावधानीले हुने दुर्घटनालाई घटाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा उक्त क्षेत्रमा भएको गम्भीर सवारी दुर्घटनाको फोटो प्रदर्शन गरि सचेतना गरिएको थियो। सो फोटोमार्फत चालक सहचालकहरूको मनोविज्ञानमा प्रभाव पार्ने र उनीहरूलाई सचेत गराउने प्रयास गरिएको हो।
ट्राफिक प्रहरीका अनुसार, “त्यो फोटो चालकको दिमागमा बस्यो भने पनि उसले गाडी ध्यानपूर्वक चलाउनेछ भन्ने हाम्रो अपेक्षा हो। यस्तो नियति अरू कसैले भोग्न नपरोस् भन्ने हाम्रो उद्देश्य हो।”
ट्राफिक प्रहरीले आगामी दिनहरूमा पनि यस्तो सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
संवाददाता । शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित