सुर्खेत । सुर्खेतको बुलबुले उद्यानमा आज सचेतनामूलक प्रतियोगिता “ट्र्यास रेस” सम्पन्न भएको छ। कार्यशाला फाउन्डेसन र फ्युचर नेपालको संयुक्त आयोजनामा तथा वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रममा वीरेन्द्रनगर क्षेत्रका विभिन्न ९ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।
प्रतियोगितामा होराइजन एकेडेमीका विद्यार्थीहरूले २५ केजी ७६० ग्राम फोहोर संकलन गर्दै प्रथम स्थान हासिल गरेका छन्। त्यस्तै, त्रिपुरेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरूले २५ केजी ७४० ग्राम फोहोर संकलन गर्दै दोस्रो तथा जेपी स्कुलका विद्यार्थीहरूले २० केजी २८० ग्राम फोहोर संकलन गर्दै तेस्रो स्थान प्राप्त गरेका छन्।

कार्यशाला फाउन्डेसनका अध्यक्ष किशोर न्यौपानेका अनुसार विजेता टोलीलाई नगद १० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिनेछ। फोहोरमैला व्यवस्थापनमा जनचेतना फैलाउने उद्देश्यसहित आयोजना गरिएको यो ट्र्यास रेस विद्यार्थीहरूमा वातावरणप्रतिको जिम्मेवारी र सक्रियता बढाउने प्रयत्न भएको आयोजकले बताएका छन्।
संवाददाता । मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित