सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको भैरव माध्यमिक विद्यालयले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ९१ प्रतिशत विद्यार्थीलाई उतिर्ण गर्दै उल्लेखनीय सफलता हात पारेको छ।
विद्यालयबाट परिक्षामा सहभागी १०२ जना विद्यार्थीमध्ये ९३ जना ग्रेडेड भएका छन् भने ९ जना ननग्रेडेड भएका छन्। ग्रेडेड विद्यार्थीमध्ये १३ जनाले ए प्लस, ३४ जनाले ए, ३५ जनाले बी प्लस र ११ जनाले बी ग्रेड हासिल गरेका छन्।
विद्यालयकी भावना बुढाले ३.९५ जीपीए सहित विद्यालयको तर्फबाट जिल्लाकै उत्कृष्ट नतिजा ल्याएकी छिन्।
यसै उपलक्ष्यमा विद्यालयले बुधबार एक कार्यक्रम आयोजना गरी शिक्षक, अभिभावक तथा सरोकारवालाको उपस्थितिमा विद्यार्थीहरुलाई बधाई तथा अभिनन्दन गर्दै सम्मान गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख नीलकण्ठ खनालले विद्यालयले सामुदायिक तर्फ प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा प्रशंसा गर्दै पालिकाको समेत निरन्तर सहयोग रहने बताए। उनले विद्यालयको समग्र विकासमा स्थानीय तहको सक्रियता उल्लेख्य रहेको जनाए।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष गंगाराम तिमिल्सिनाले विद्यार्थी, शिक्षक, अभिभावक तथा सम्पूर्ण समुदायको सहयोग र कडा मेहनतले यस्तो नतिजा सम्भव भएको बताए। विद्यालयलाई भविष्यमा नेपालकै उत्कृष्ट बनाउने लक्ष्य रहेको उनको भनाइ छ।
प्रधानाध्यापक भक्तबहादुर जिसीले विद्यालयले विद्यार्थीमैत्री वातावरण निर्माण गर्दै शिक्षा क्षेत्रमा ‘हव’ को रूपमा विकास गरिरहेको बताए। विज्ञान संकायको थालनीसँगै कक्षा ११ मा व्यवस्थापन र शिक्षा संकाय पनि सञ्चालनमा रहेको जानकारी दिए।
सम्मानित विद्यार्थीहरूले विद्यालयको पठनपाठन, अनुशासन र शैक्षिक वातावरणको खुलेर प्रशंसा गरेका थिए।
विद्यालयमा हाल अत्याधुनिक प्रयोगशाला, पुस्तकालय र स्तरीय कक्षाकोठाहरू सञ्चालनमा छन्। विद्यालयले भविष्यमा अझ उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता जनाएको छ।
संवाददाता । बुधबार, असार १८, २०८२ मा प्रकाशित