सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले नक्कली नेपाली नोट र लागूऔषध अफिम सहित पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीले विशेष सूचनाको आधारमा सञ्चालन गरेको अपरेसनबाट १३ लाख बराबरको एक हजारका नक्कली नोट र ३० किलोभन्दा बढी लागूऔषध बरामद गरिएको हो।
प्रहरीका अनुसार असार ३० गते दिउँसो १:३० बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, शान्तिटोलस्थित डेराबाट जाजरकोट कुशे गाउँपालिका–५ की २२ वर्षीया दिलमाया सिंह ठकुरीलाई पहिलो चरणमा नियन्त्रणमा लिइएको हो। उनको साथबाट ६ हजार नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ।
त्यसपछिको अनुसन्धानक्रममा प्रहरी टोलीले दिलमायाको डेरा तथा सम्बन्धित व्यक्तिहरुको खोजतलास गर्दा हिजो साँझ जाजरकोटका रामबहादुर सिंहको संलग्नतासमेत खुलेको थियो। उनकाे कोठाबाट लुकाई छिपाई राखिएको थप एक हजार दुई सय ३६ थान नक्कली नोट (जम्मा रु. १२ लाख ३६ हजार) बरामद गरिएको छ।
यसैबीच, हिजो राति १० बजे लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा भेरीगंगा नगरपालिका–१२ स्थित डेरा गरी बसेका जाजरकोटको कुशे गाउँपालिका ७ का बर्ष ३५ का कृष्णबहादुर वली र बर्ष ३८ का प्रेमबहादुर बि.कको डेरामा छापा मार्दा कालो झोलामा लुकाइएको अफिम जस्तो देखिने गिलो पदार्थ ११ पोका (शुद्ध तौल ११ किलो ३७२ ग्राम) फेला परेको हो।
प्रहरी अनुसन्धानको सिलसिलामा नक्कली नोट उत्पादनमा संलग्न समूहको लिङ्क खुल्दै जाँदा जिल्ला कालीकोट नरहरीनाथ गाउँपालिका–४ का मनबहादुर सहकारी पक्राउ परेका छन्। उनी हाल बाँके कोहलपुर नगरपालिका–११ मा ‘जनगर्जन नेटवर्क प्रा.लि.’ नामक मिडिया सञ्चालन गर्दै आएका थिए। उनको कोठा र अफिसबाट नक्कली नोट ५१ थान (५१ हजार) नक्कली, १५ पोका लागुऔषध (१९ किलो ३०० ग्राम), नक्कली नोट छाप्न प्रयोग भएको प्रिन्टर, कम्प्युटर, मोनिटर, क्यामेरा, मेमोरी चिप्सजस्ता नक्कली नोट उत्पादनमा प्रयोग हुने उपकरणहरू बरामद गरिएको छ। उनले आफैले नक्कली नोट बनाएको स्विकार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी सुधीर राज शाहीले जानकारी दिएका छन्।
पक्राउ परेका पाँचै जनामाथि लागूऔषध कारोबार, मुद्रा सम्बन्धी कसूर र संगठित अपराधअन्तर्गत कानुनी कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।
प्रहरीका अनुसार, यो समूहले लामो समयदेखि संगठित रूपमा नक्कली नोट निर्माण तथा लागूऔषध कारोबार गरिरहेको हुनसक्ने आशंकामा विस्तृत अनुसन्धान थालिएको छ।







संवाददाता । मङ्गलबार, असार ३१, २०८२ मा प्रकाशित