काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भेरी करिडोरको जाजरकोट–डोल्पा खण्डमा पर्ने १३ ओटा पुलहरुमध्ये पाँचवटा पुल आगामी दुई वर्षभित्र सम्पन्न हुने गरी निर्माण भइरहेको जानकारी दिनुभएको छ । आजको राष्ट्रियसभामा सांसद मायाप्रसाद शर्माले राख्नुभएको जिज्ञासाको उत्तर दिँदै उहाँले पाँचवटा पुल दुई वर्षमा सकिने गरी काम अगाडि बढाइएको जानकारी दिनुभयो ।
मन्त्री दाहालका अनुसार सो अवधिमा झिम्री खोला, नलगाडा खोला, चौखा खोला, तात्र खोला र तासु खोला पुलको निर्माण सम्पन्न गरिनेछ । चालु आर्थिक वर्षदेखि सुरु भएर आगामी तीन वर्षभित्र रिजिगाड खोला, चुगाड खोला उसुमखोला, गल्लीगाडखोलालगायतका आठवटा भेरी करिडोरअन्तर्गतका पुल निर्माण गरिने योजना रहेको मन्त्री दाहालले बताउनुभयो ।
उहाँका अनुसार, २०६८ सालमा पुष्पलाल लोकमार्ग ९मध्यपहाडी०, रुकुमपश्चिम र जाजरकोट जोड्ने भेरी सडक पुल निर्माणका लागि वाईपी कन्स्ट्रक्सन प्रालिसँग तीन वर्षमा पुल बनाउनेगरी सम्झौता भएको थियो । मन्त्री दाहालले भन्नुभयो, “तर, एक पिल्लर र केही टावर निर्माणबाहेक अन्य काम ठप्प छ, साथै, छिन्चु–डोल्पा जाने भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्डमा पासागाडसहित १३ वटा पुल निर्माण गर्नुपर्ने छ ।”
मध्यपहाडी राजमार्गमा पर्ने भेरी नदी पुलको निर्माण पनि वाईपी कन्स्ट्रक्सन प्रालिले सम्झौताअनुसार नगरेका कारण ठेक्का तोडिएको र मिति २०७१ मङ्सिर १३ गते कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरिएको मन्त्रीले जानकारी दिनुभयो । “त्यसपछि दुईपटक बोलपत्रमार्फत ठेक्का व्यवस्थापनको प्रयास गरिएकामा पहिलो पटक लागत अनुमानभन्दा सारभूत रूपमा बढी रकम कबोल भएकाले असफल भएको र दोस्रोपटक कुनै पनि बोलपत्रदाता नआएकाले ठेक्का लगाउन सकिएन,” उहाँले भन्नुभयो, “हाल लागत अनुमान पुनरावलोकनको प्रक्रिया अगाडि बढाइएको र आर्थिक वर्ष २०८२र८३ मा ठेक्का व्यवस्थापन गरी निर्माण अघि बढाइने छ ।”







संवाददाता । मङ्गलबार, साउन ०६, २०८२ मा प्रकाशित