सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ नयाँ बजारस्थित एक घरबाट सुनका गरगहना तथा नगद चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार साउन २१ गते विहान करिब साढे ११ बजेको समयमा कल्पना मल्लको घरबाट २.५ तोला सुनको सिक्री, इन्डियन मंगलसूत्र, बेरुवा औंठी, काँक्रेविहार औंठी, झाला, क्लिप, ब्रासलेट र नगद ५० हजार रुपैयाँ चोरी भएको थियो।
घटनाबारे सुचना प्राप्त हुनासाथ प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले घटनास्थल आसपासको सीसीटीभी फुटेजलगायतको सहायताले अनुसन्धान थालेको थियो।

अनुसन्धानको क्रममा सुनका गरगहना चोरी गर्ने वीरेन्द्रनगर–६ शान्तिटोल बस्ने १८ वर्षीय अर्जुन गहतराजलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले उनको साथबाट चोरी भएका सामग्रीमध्ये सुनको ब्रासलेट, लेडिज औंठी, बेरुवा औंठी र सिक्री फेला पारेको छ।
हाल पक्राउ परेका गहतराजविरुद्ध चोरी सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
संवाददाता । बिहिबार, साउन २२, २०८२ मा प्रकाशित