Karnali Media
२०८३ साउन १२ , मंगलबार

भेरी नगरपालिका वडा कार्यालय भवन निर्माणको ठेक्का अनियमितता, ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



सुर्खेत । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाजरकोट भेरी नगरपालिका वडा कार्यालय भवन निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले वडा कार्यालय भवन निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा नगरपालिकाका ६ जना कर्मचारी र ठेकेदार कम्पनीका दुईजना गरी आठजनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती,इन्जिनियर मोहन मल्ल,कानुन अधिकृत प्रकाश कुमार शाही,सामाजिक विकास अधिकृत अनिस साह,लेखापाल राजेन्द्र बहादुर कठायत र जिन्सी शाखा प्रमुख तथा नायव सुब्बा कृतिबहादुर थापाविरुद्ध मुद्दा दायर भएको हो।


यसैगरी मुद्दामा ठेकेदार गंगा कुमारी खड्का र चित्रबहादुर बोहरालाई प्रतिवादी बनाइएको छ। आयोगले उनीहरूविरुद्ध ३६ लाख २० हजार ५७८ रुपैयाँ विगो माग गर्दै मुद्दा दायर गरेको हो।

उनीहरूले आर्थिक वर्ष २०८०/०८१ मा भेरी नगरपालिकाको वडा नम्बर ६,९ र १० को वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा सार्वजनिक खरिद कानुन विपरीतको कार्य गरी अनियमितता गरेको अनुसन्धानबाट खुल्न आएको अख्तियारको ठहर छ।

प्रकाशित मिति : २०८२ भदौ १२ गते बिहीबार