सुर्खेत । नक्कली विवाह गराइ ठगी गरेको कसुरमा सुर्खेतमा दुई जना पक्राउ परेका छन्।
सामाजिक सञ्जालमार्फत सम्पर्क गरेर नक्कली आमा–बुवा र छोरी बनेर विवाह गर्ने, विवाहपछि बेहुली बनेकी महिलाले नगद तथा गरगहना लिएर फरार हुने कार्य दोहोर्याउँदै आएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।
पीडितहरूले फरक–फरक मितिमा एउटै महिलाले विभिन्न पुरुषसँग विवाह गरेर नगद र गरगहना लिएर ठगी गरेको भनी जाहेरी दिएका थिए। सोही आधारमा प्रहरीले ठगीमा संलग्न रहेका दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकामध्ये दैलेख साढु घर भई हाल सुर्खेत वीरेन्द्रनगर–१० बस्ने ४० वर्षीय गोपाल कुमार विक (होटल सदाशंकर सञ्चालक) र अछाम तुर्माखाद घर भई हाल वीरेन्द्रनगर–१० बस्ने ३८ वर्षीया भविसरा रास्कोटी मगर रहेका छन्।
उनीहरूविरुद्ध अपराधिक लाभ तथा ठगी कसुरमा मुद्दा दर्ता भई म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






संवाददाता । बिहिबार, भदौ १९, २०८२ मा प्रकाशित