सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनताको विश्वास, भरोसा र समर्थनले मात्रै कुनै पनि राजनीतिक दल सुरक्षित रहन सक्ने बताएका छन् ।
आज सुर्खेतमा आयोजित नेकपा (एमाले) जिल्ला सचिवालयको बैठकलाई सम्बोधन गर्दै उनले भने, “जनताको घर–घरमा पुगौं, उनीहरूलाई वर्तमान अवस्था र आगामी राजनीतिक चुनौतीबारे बुझाऔं ।
जनताको समर्थन रहुन्जेल एमालेलाई कसैले कमजोर बनाउन सक्दैन ।” मुख्यमन्त्री कँडेलले अहिलेको समय राजनीतिक दृष्टिले अत्यन्त संवेदनशील रहेको उल्लेख गर्दै कार्यकर्तालाई उच्च मनोबलका साथ सक्रिय हुन निर्देशन दिए । इतिहासमै पहिलो पटक राजनीतिक असुरक्षाको स्थिति सिर्जना भएको छ, त्यसैले जनतासँग प्रत्यक्ष सम्पर्कमा रहन आवश्यक रहेको कँडेलले उल्लेख गरे ।
उनले भने, “राजनीति भनेको जनसम्पर्क हो, जनता नै हाम्रो शक्ति हुन् । गाउँ–गाउँ, टोल–टोलमा पुगेर पार्टीको नीति, उद्देश्य र भविष्यको योजना जनतासामु पुर्याऔं ।” अबको राजनीतिक यात्रा सजिलो छैन, उनले चेतावनी दिंदै भने, “राजनीतिक चेतना कमजोर भयो भने पलायन र निराशा बढ्छ । त्यसैले सबै कार्यकर्ता सचेत बनाऔं, मुख्यमन्त्री कँडेलले एमालेमाथि चारैतिरबाट प्रहार भइरहेको दाबी गर्दै त्यसलाई जनशक्ति, संगठन र विश्वासको बलमा सामना गर्नुपर्ने बताए ।







संवाददाता । सोमबार, असोज २७, २०८२ मा प्रकाशित