Karnali Media
२०८३ असार १४ , आइतबार

देउसी–भैलो खेल्ने क्रममा झैझगडा र ज्यान मार्ने उद्योगमा ९ जना पक्राउ



सुर्खेत । देउसी–भैलो खेल्ने क्रममा उच्छृङ्खल गतिविधि र झैझगडा गर्दै ज्यान मार्ने उद्योगमा संलग्न नौ जना युवालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार मिति कात्तिक ६ गते राति करिब १:३० बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० नयाँ घुस्रास्थित सार्वजनिक सडकमा देउसी–भैलो खेल्ने क्रममा केही युवाहरुबीच झैझगडा भएको थियो। झैझगडाका क्रममा बाटो छेकी पिडितलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरी गम्भीर घाइते बनाएको अभियोगमा उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको हो।

घटनापछि फरार रहेका प्रतिवादीहरूलाई खोजतलासका क्रममा मिति कार्तिक ८ गते बिहान ८:०० बजे प्रहरीले वीरेन्द्रनगर–१० क्षेत्रमा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी डिएसपी मोहनजंग बुढथापाले जानकारी दिएका छन्। हाल पक्राउ परेकाहरु विरुद्ध म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


पक्राउ पर्नेहरुमा वीनपा ३ का उत्सव पुनमगर (१८ वर्ष), चाहिन गुरुङ (१८ वर्ष), विक्रान्त गुरुङ (२१ वर्ष), वीनपा ९ का हेमराज रोकाय (१८ वर्ष), सिमान्त पन्त (१८ वर्ष), समिर खत्री (१८ वर्ष), सन्देश रावल (१८ वर्ष), रौनक बाह्रघरे (१८ वर्ष) र किरण चौधरी (१८ वर्ष) रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी कारबाही अगाडि बढाइएको छ।

प्रकाशित मिति : २०८२ कात्तिक ११ गते मंगलबार