जुम्ला । करिब ८० प्रतिशत घरधुरीमा धारा जडान गर्न जिल्लाको हिमा गाउँपालिका सफल भएको छ । ‘एक घर एक धारा’ नीतिका साथ कार्यान्वयनमा गएको सो पालिकाले क्रमशः सबै घरमा धारा जोड्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
गत आर्थिक वर्ष २०८१÷८२ को प्रगति विवरण सार्वजनिक गर्ने क्रममा आज यहाँ आयोजित कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले ८० प्रतिशत घरधुरीमा धारा जडान गरिएको र बाँकीमा पनि गरिने जानकारी दिनुभयो । पालिकामा सञ्चालित विभिन्न योजनाबाट ‘एक घर एक धारा’ विस्तार गरिएको हो ।
करिब दुई हजार ३०२ घरधुरीमा ‘एक घर एक धारा’ को पहुँच पुगेको छ । शुद्ध खानेपानीको पूर्वाधार निर्माणका लागि गाउँपालिकाको सहकार्यमा ‘सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता ९सुस्वा० आयोजना’ मार्फत खानेपानी विस्तार गरिएको अध्यक्ष लक्ष्मीबहादुर शाहीले जानकारी दिनुभयो ।
गतवर्ष सञ्चालन गरिएको गाउँमै निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट करिब ९७१ जनाले सेवा लिएको पालिकाले जनाएको छ । यसैगरी सामाजिक सुरक्षाभत्ता बैंकमार्फत वितरण गर्न थालिएको छ । ‘छोरीको सुरक्षा जीवनभरि’ को कार्यक्रमअन्तर्गत ५६ जनाको बैंक खाता खोलिएको पनि गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत बुढाका अनुसार बैंक सेवामार्फत ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता वितरण गर्ने नीतिअनुसार ४८८ जनाले सेवा लिएका छन् ।
गाउँपालिकाले गत आर्थिक वर्षमा करिब रु २६ लाख ४३ हजार आन्तरिक राजस्व सङ्कलन गरेको र विभिन्न शीर्षकका १०९ वटा योजना सम्पन्न गरेको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।






संवाददाता । आइतबार, कार्तिक ३०, २०८२ मा प्रकाशित