सुर्खेत । सुर्खेतमा मंसिर १८ गतेदेखि २८ गतेसम्म ह्याप्पी फन पार्क सांस्कृतिक महोत्सव २०८२ सञ्चालन हुने भएको छ । महोत्सव आयोजक समितिले मंगलबार पत्रकार सम्मेलन गरी कार्यक्रमको विस्तृत जानकारी सार्वजनिक गरेको हो ।
फनपार्कका सञ्चालक तथा महोत्सव आयोजक विशाल ढकालका अनुसार सुर्खेतमा पहिलो पटक सञ्चालनमा आएको आधुनिक मनोरञ्जन पार्कले वर्षभरि नियमित रूपमा सेवा प्रदान गर्नेछ । तर चाडपर्व तथा विशेष अवसरहरूलाई लक्षित गर्दै समय समयमा सांस्कृतिक तथा मनोरञ्जनात्मक महोत्सवहरूको आयोजना गर्दै जाने योजना रहेको उनले बताए ।
उनका अनुसार ह्याप्पी फनपार्क कर्णाली प्रदेशकै पहिलो पूर्ण मनोरञ्जन पार्क हो । जहाँ बालबालिकादेखि सबै उमेर समूहका व्यक्तिले मनपूवर्क रमाउन सक्ने विभिन्न आकर्षक उपकरण जडान गरिएको छ । पार्कभित्र झुला, ट्रम्पोलिन, मिनी,कोस्टरलगायत मनोरञ्जनका साधनहरू व्यवस्था गरिएको छ । जसले परिवार, बालबालिका तथा युवा समूहलाई लक्षित गरी छुट्टै मनोरञ्जनको वातावरण सिर्जना गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।
महोत्सवमा स्थानीयदेखि राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहनेछ । सांगीतिक मनोरञ्जन, स्थानीय संस्कृतिको प्रस्तुति, विभिन्न खेलकुद तथा परिवारमै रमाउन मिल्ने गतिविधिहरू महोत्सवको प्रमुख आकर्षण हुने आयोजक समितिको भनाइ छ ।
दर्शकहरूका लागि महोत्सव प्रवेश शुल्क रू १ सय तोकिएको छ । महोत्सव भर्न आउने सर्वसाधारणलाई सहज र सुरक्षित वातावरण उपलब्ध गराउने उद्देश्यले आवश्यक सबै तयारी पूरा गरिएको आयोजकले जनाएको छ ।
महोत्सव सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रिया तथा स्थानीय प्रशासनसँगको समन्वयसमेत पूरा भइसकेको आयोजक समितिले स्पष्ट पारेको छ । संयाेजक ढकालका अनुसार महोत्सवले सुर्खेतमा पर्यटन, स्थानीय व्यवसाय तथा सांस्कृतिक गतिविधिलाई थप प्रोत्साहन गर्नेछ र यसले कर्णाली प्रदेशको मनोरञ्जन क्षेत्रलाई नयाँ पहिचान प्रदान गर्ने अपेक्षा गरिएको छ ।






संवाददाता । मङ्गलबार, मङि्सर १६, २०८२ मा प्रकाशित