सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा पहिलो एफएसयू अभ्यास अदातल प्रतियोगिता सम्पन्न भएको छ ।
मध्यपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजित दुईदिने पहिलो एफएसयू अभ्यास अदालत प्रतियोगिता सम्पन्न भएको हो ।
दुई दिनसम्म चलेको प्रतियोगितामा विश्वविद्यालयका विभिन्न ९ समूहले सहभागी भएर आफ्नो कानुनी तर्क क्षमता, बहस कौशल र व्यावहारिक सीपको उत्कृष्ट प्रदर्शन गरेका थिए ।
पहिलो दिन प्रारम्भिक र क्वाटरफाइनल चरणका प्रतिस्पर्धाहरू भए भने दोस्रो दिन सेमिफाइनल तथा फाइनल चरणका बहसहरू गरिएको थियो ।
प्रारम्भिक चरणबाट उत्कृष्ट प्रदर्शन गर्दै एफएसयू–१११, एफएसयू–१२४, एफएसयू–११५ र एफएसयू–११९ सेमिफाइनलमा पुगेका थिए । त्यसपछि तीमध्ये एफएसयू–१११ र एफएसयू–११५ फाइनलमा प्रवेश गर्दै मुख्य प्रतिस्पर्धामा उत्रिएका थिए ।
फाइनल प्रतिस्पर्धामा प्रभावशाली कानुनी प्रस्तुति र तर्कसंगत बहस प्रस्तुत गर्न सफल एफएसयू–१११ समूहले प्रथम स्थान हात पार्यो । त्यस्तै, एफएसयू–११५ ले दोस्रो, एफएसयू–११९ ले तेस्रो र एफएसयू–१२४ ले सान्त्वना स्थान प्राप्त गरे ।
व्यक्तिगत विधामा उत्कृष्ट बहसकर्ता को उपाधि सञ्जु विश्वकर्माले जितिन् भने उत्कृष्ट मेमोरियल समूह को रूपमा एफएसयू–१२१ घोषित भयो ।
प्रतियोगिताले सहभागी विद्यार्थीहरूलाई वास्तविक न्यायालय प्रक्रियासँग नजिक ल्याउँदै कानुनी विश्लेषण, अनुसन्धान, अनुशासन र प्रतिस्पर्धात्मक सीपहरू विकास गर्न अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन् ।
प्रतियोगिता संयोजक तथा स्ववियु कोषाध्यक्ष लोक प्रसाद रिजालले एफएसयूले विधि शिक्षामा व्यावहारिक अभ्यास विस्तार गर्न थालेको यो प्रयास ऐतिहासिक भएको उल्लेख गर्दै, “विद्यार्थीहरूको सीप, आत्मविश्वास र कानुनी तर्क क्षमतामा आएको परिवर्तन हेर्दा यो प्रतियोगिताहाम्रो अपेक्षाभन्दा धेरै प्रभावकारी भएको महसुस भयो,” भन्ने प्रतिक्रिया दिएका छन । उनले आगामी वर्षहरूमा प्रतियोगितालाई अझ विस्तृत, संरचित र अन्तरविश्वविद्यालय स्तरमै विस्तार गर्ने योजना रहेको पनि बताए ।
कार्यक्रममा सुर्खेत जिल्ला न्यायाधीश वसन्तराज जोशीले विद्यार्थीहरूलाई विधि शिक्षामा बहस तथा प्रस्तुति संस्कृतिको प्रभावकारिता बुझाउँदै, “मुट कोर्टजस्ता व्यावहारिक मंचहरूले भविष्यका कानुन व्यवसायीहरूलाई सक्षम, अनुशासित र न्यायप्रति उत्तरदायी बनाउनेमहत्वपूर्ण भूमिका खेल्छ,” भने ।
यस्तै, मध्यपश्चिम विश्वविद्यालय ग्राजुएट स्कुल अफ ल का डीन प्रा. डा. विनोद बस्याल, संस्थापक कार्यक्रम निर्देशक तथा परीक्षा व्यवस्थापन प्रमुख सहप्रा. डा. अर्जुनबहादुर आयडी, कार्यक्रम निर्देशक विनयकुमार झा लगायत कानुन क्षेत्रका दिग्गज व्यक्तिहरू, विश्वविद्यालयका निर्देशक, प्राध्यापक, कानुन अधिकृत, नेपाल बारका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।






संवाददाता । बिहिबार, मङि्सर १८, २०८२ मा प्रकाशित