सुर्खेत । केन्द्रीय निक्षेप प्रणाली तथा क्लियरिङ लिमिटेडको आयोजनामा तथा इन्दिरा सेक्युरिटिज प्रा.लि. (ब्रोकर नं. ८०) को सह–आयोजनामा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ।
इन्दिरा सेक्युरिटिज प्रा. लि. ले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मा शाखा विस्तार गरेसँगै स्थानीय लगानीकर्तालाई सेयर बजारसम्बन्धी जानकारी दिने, वित्तीय साक्षरता अभिवृद्धि गर्ने तथा सचेत लगानी संस्कृतिको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रमको अध्यक्षता इन्दिरा सेक्युरिटिज प्रा. लि. सुर्खेत शाखाका शाखा प्रबन्धक कर्ण थापाले गरेका थिए भने सञ्चालन त्रिभुवन बी.सी. ले गरेका थिए। कार्यक्रममा ब्रोकर नं. ८० का प्रतिनिधि प्रदीप कंडेल र शाखा कार्यालयका टिम सदस्य सैयद अनवर अली उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिका ६ का वडाध्यक्ष जनक रावल रहेका थिए। विशेष अतिथिका रूपमा सुर्खेत उद्योग वाणिज्य संघका महासचिव रामप्रसाद जैसी तथा कर्णाली अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष भद्र भण्डारीको उपस्थिति रहेको थियो।
कार्यक्रममा सेयर बजार, डिम्याट खाता, लगानीका अवसर तथा जोखिम व्यवस्थापनका विषयमा जानकारी प्रदान गरिएको थियो। स्थानीय लगानीकर्ता तथा सरोकारवालासहित १५० भन्दा बढी सहभागीको उपस्थिति रहेको यस कार्यक्रमले सेयर बजारप्रति आ नागरिकको चासो र समझदारी बढाउन महत्वपूर्ण योगदान दिएको आयोजकले बताएको छ।









संवाददाता । बुधबार, पुष ०२, २०८२ मा प्रकाशित