Karnali Media
२०८३ साउन १२ , मंगलबार

कुपोषण स्वास्थ्य मात्र होइन, सामाजिक सोचको समस्या पनि हो



दैलेख । गुराँस गाउँपालिकामा कुपोषणलाई केवल स्वास्थ्य समस्याको रूपमा होइन, सामाजिक संरचना, परम्परागत अभ्यास र विश्वाससँग गाँसिएको गम्भीर चुनौतीका रूपमा लिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । पोषण नेपालले शुक्रबार गुराँस गाँउपालिकाद्धारा आयोजित संवाद कार्यक्रममा कुपोषणको जडमा बालविवाह, लैङ्गिक विभेद, परम्परागत उपचार पद्धति र निर्णय प्रक्रियामा महिलाको कमजोर सहभागिता रहेको निष्कर्ष निकालिएको छ ।

“परम्परागत उपचारकर्ता, धार्मिक अगुवा र समुदायका अगुवाहरू समाजका प्रभावशाली पात्र हुन्। उनीहरू सकारात्मक परिवर्तनको वाहक बन्न सके कुपोषण न्यूनीकरणमा ठूलो योगदान पुग्छ,” कार्यक्रमका सहभागीहरूले बताएका छन् ।

गुराँस गाउँपालिका उपाध्यक्ष शिवा खड्काले कानुन र नीति मात्र पर्याप्त नहुने बताउँदै सामाजिक मान्यतामा परिवर्तन आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले बालविवाह, खानपानमा विभेद र महिलाको निर्णय क्षमतामा देखिएको कमजोरी कुपोषणको मुख्य कारण भएको उल्लेख गर्नुभयो।

स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सीता कुमारी मल्लले कम उमेरमा विवाह र गर्भधारणले आमा तथा बच्चाको स्वास्थ्यमा गम्भीर असर पार्ने बताउनुभयो। उहाँका अनुसार गाउँपालिकामा मातृ तथा बाल कुपोषण घट्दो क्रममा भए पनि अझै चुनौती कायमै छ। “परम्परागत विश्वासका कारण स्वास्थ्य संस्थामा जान ढिलाइ हुने समस्या अझै देखिन्छ,” उहाँले भन्नुभयो।


महिला तथा बालबालिका शाखा प्रमुख माया खड्काले घरभित्रको निर्णय प्रक्रियामा महिलाको पहुँच कमजोर हुँदा कुपोषणको जोखिम बढ्ने बताउनुभयो। उहाँले बालविवाह, लैङ्गिक विभेद र हिंसाका घटना सामाजिक मान्यताका कारण लुक्ने गरेको उल्लेख गर्दै समुदायमै खुला संवादको वातावरण बनाउन आवश्यक रहेको धारणा राख्नुभयो।

सामाजिक विकास समिति संयोजक काशीराम शर्माले कुपोषणलाई सामाजिक समस्याका रूपमा बुझाउन धार्मिक अगुवा, युवा समूह र नागरिक समाजबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो। “सामाजिक सोच परिवर्तन नगरी कुपोषणको दिगो समाधान सम्भव छैन,” उहाँको भनाइ थियो।

कार्यक्रममा परम्परागत उपचारकर्ता तथा धार्मिक अगुवाहरूले पनि आफ्नो भूमिकाबारे आत्मसमीक्षा गरेका थिए। उनीहरूले बिरामी परेमा स्वास्थ्य संस्थामा जान प्रेरित गर्ने, अन्धविश्वास कम गर्ने र आमा–बच्चाको स्वास्थ्यप्रति सचेत गराउने प्रतिबद्धता व्यक्त गरे।

संवाद उपस्थित किशोरीले सबै वक्ताहरुलाई “महिनावारीका बेला गोठमा बस्नुपर्ने सोच, विद्यालयमा किशोरीमैत्री शौचालयको अभाव, पोषणयुक्त खानाको कमी जस्ता विषयमा किन सोच्दैनन्” प्रश्न गर्नुभयो । गाउँपालिकाले पोषण सुधारका लागि प्रत्येक वडामा पोषण कार्यक्रम, गर्भवती तथा सुत्केरी लक्षित सचेतना र पोषण चक्र तोड्ने अभियान सञ्चालन गरिरहेको जानकारी दिइयो।
कार्यक्रम अन्त्यमा सहभागीहरूले कुपोषण अन्त्यका लागि आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए। कुपोषण न्यूनीकरणका लागि सामाजिक मान्यता परिवर्तन, व्यवहार सुधार र सबै पक्षको सहकार्य आवश्यक रहेको निष्कर्षसहित संवाद कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : २०८२ पुस १३ गते आइतबार