सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा चर्चित नाटक “एक चिहान” को भव्य मञ्चन भइरहेको छ। नेपाली साहित्यका सुप्रसिद्ध उपन्यासकार हृदयचन्द्र सिंह प्रधानको चर्चित उपन्यासमा आधारित यो नाटक नाट्य शाला (काठमाडौँ) को आयोजनामा सुर्खेतमा प्रदर्शन भइरहेको हो।
आइतबारदेखि सुरु भएको नाटक आगामी पुस २३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। कक्षा १२ को अनिवार्य नेपाली पाठ्यक्रममा समावेश यस उपन्यासलाई रङ्गमञ्चमा जीवन्त रूपमा प्रस्तुत गरिएपछि सुर्खेत तथा आसपासका क्षेत्रका विद्यार्थी र साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता देखिएको छ।
वीरेन्द्रनगरस्थित कौशिक पार्टी प्यालेसमा मञ्चन भइरहेको यस नाटकको ७५ औँ शो हाल सञ्चालनमा रहेको आयोजकले जनाएको छ। नाटकको नाट्य रूपान्तरण तथा निर्देशन नकुल पौड्यालले गरेका हुन्। नाटक दैनिक तीन शो—बिहान ८ बजे, ११ बजे र दिउँसो २ बजे र साँझ ६ बजेदेखि प्रदर्शन भइरहेको छ। नाटक हेर्नका लागि प्रवेश शुल्क ३०० रुपैयाँ तोकिएको छ।
पाठ्यक्रम विकास केन्द्रबाट समेत प्रमाणित यस नाटकले विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा सीमित ज्ञानभन्दा बाहिर पुगेर कथाका पात्र, परिवेश र सामाजिक यथार्थलाई नजिकबाट बुझ्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ। निर्देशक नकुल पौड्यालले उपन्यास पढ्नु र त्यसलाई मञ्चमा प्रत्यक्ष देख्नुबीच ठूलो अन्तर हुने उल्लेख गर्दै यसले विद्यार्थीहरूको सिकाइलाई दीर्घकालीन बनाउने विश्वास व्यक्त गरेका छन्।






संवाददाता । सोमबार, पुष २१, २०८२ मा प्रकाशित