सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले सोमबार भेरी पम्पिङ आयोजनाको अनुगमन गर्नुभएको छ । सन् २०५० सम्म वीरेन्द्रनगरमा वृद्धि हुनसक्ने जनसङ्ख्यालाई मध्यनजर गरेर अघि बढेको आयोजनाको सोमबार अनुगमन गर्नुभएको हो ।
मुख्यमन्त्री कँडेलले आयोजना लक्ष्यअनुसार तीव्र गतिमा अघि बढेकामा प्रशंसा गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो आयोजना तीनै तहका सरकारको संयुक्त लागतमा निर्माण भइरहेको छ । आयोजनामा सङ्घीय सरकारको ८० प्रतिशत, प्रदेश सरकारको १३ प्रतिशत र नगरपालिकाको सात प्रतिशत लगानी छ ।”
आयोजनाको निर्माण चिनियाँ कम्पनी ‘सिज्याङ टम्र्स इन्टरनेशनल इकोनोमी एण्ड टेक्निकल कर्पोरेसन’ले गत वर्षदेखि कामलाई निरन्तरता दिएको मुख्यमन्त्री कँडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विगतमा निर्माण प्रक्रियाका कतिपय चरण पूरा नगरी कार्यान्वयनमा जाँदा केही ढिलाइ भएको थियो । अहिले प्रभावकारी रूपमा काम भइरहेको छ ।”
विगतमा केही समस्या भए पनि प्रदेश सरकार र नगरपालिकाबीच सहकार्य र समन्वय निरन्तर भइरहेको मुख्यमन्त्री कँडेलले जानकारी दिनुभयो । उहाँले ठेकेदार कम्पनीलाई यही गतिमा कामलाई निरन्तरता दिन निर्देशन दिनुभयो ।
मुख्यमन्त्री कँडेललाई आयोजना परामर्शदाता प्रमुख रमेश अधिकारीले भौतिक प्रगति करिब १४ प्रतिशत भएको जानकारी दिनुभएको थियो । उहाँले पहिलो चरणमा रु तीन अर्ब पाँच करोड आठ लाख १५ हजार २८०।६१ रुपैयाँ लागतमा काम भइरहेको जानकारी दिनुभयो । भेरी नदीबाट सात किमी दूरीमा रहेको वीरेन्द्रनगर नगरपालिका–११ को अमृतडाँडामा मुख्य रिजर्भ ट्याङ्की निर्माण भइरहेको छ ।
आयोजना सन् २०२७ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ‘पम्पिङ’ प्रविधिबाट सुरु गरिएको उक्त परियोजनाले वीरेन्द्रनगरका बासिन्दालाई सन् २०५० सम्म खानेपानी पुग्ने अनुमानसहित निर्माण सुरु गरिएको हो ।






संवाददाता । मङ्गलबार, पुष २२, २०८२ मा प्रकाशित