सुर्खेत । वीरेन्द्रनगर–४ स्थित प्रतिक्षा मोन्टेश्वरीले शनिबार साइन्स एण्ड आर्ट एक्जुभेसन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा कक्षा १ देखि ५ सम्म अध्ययनरत सम्पूर्ण बालबालिकाले आफैंले तयार गरेका विज्ञान तथा कला सम्बन्धी सामग्रीहरू प्रदर्शन गर्दै त्यसबारे स्वयम् प्रस्तुतीकरण गरेका थिए ।
बालबालिकाको सिर्जनशीलता, आलोचनात्मक सोच र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । आफ्ना छोराछोरीले आत्मविश्वासका साथ प्रस्तुतीकरण गरेको देख्दा अभिभावकहरूले विद्यालयको शिक्षण शैलीप्रति खुसी व्यक्त गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा वीरेन्द्रनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख धिरेन्द्रप्रसाद शर्माले परम्परागत कक्षाकोठा केन्द्रित शिक्षण पद्धतिमा परिवर्तन आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो,“अबको शिक्षण प्रणाली किताबमा मात्र सीमित हुनु हुँदैन । किताबभन्दा बाहिर पनि धेरै किताब छन् भन्ने कुरा विद्यार्थीलाई सिकाउनु पर्छ । अनलाइन र अफलाइन दुवै माध्यमबाट खुला सिकाइको अवसर दिन सक्ने शिक्षक नै २१औँ शताब्दीका सक्षम शिक्षक हुन् ।”
विद्यार्थीको रुचि, क्षमता र सिकाइ शैली फरक–फरक हुने भएकाले शिक्षण पद्धति पनि त्यसअनुसार बदलिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
विद्यालयकी सहायक प्रधानाध्यापक सपना मगरले यस प्रकारका कार्यक्रमले विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्ध सुदृढ बनाउने बताउनुभयो । “यो कार्यक्रमले अभिभावक र समुदायका सदस्यलाई विद्यार्थीहरूको प्रयास र उपलब्धि नजिकबाट अवलोकन गर्ने अवसर दिन्छ,” उहाँले भन्नुभयो, “हामी शैदान्तिक ज्ञानमा मात्र सीमित छैनौं । व्यवहारिक ज्ञान र जीवनोपयोगी सीपमार्फत विद्यार्थी होइन, असल व्यक्ति निर्माण गर्ने हाम्रो लक्ष्य हो ।”
कार्यक्रमले बालबालिकामा सिर्जनशील सोच, प्रस्तुतीकरण क्षमता र सिकाइप्रति रुचि बढाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको प्रतिक्रिया छ । प्रतिक्षा मोन्टेश्वरीले आगामी दिनमा पनि यस्ता प्रयोगात्मक र विद्यार्थीमैत्री शैक्षिक गतिविधि निरन्तर सञ्चालन गर्ने जनाएको छ ।







सिर्जना बुढाथोकी । शनिबार, माघ ०३, २०८२ मा प्रकाशित