कर्णाली प्रदेशमा विद्युतीय सवारी साधनको पहुँच विस्तार गर्ने उद्देश्यसहित बहुप्रतिक्षित iCAUR V23 लाइफस्टाइल इलेक्ट्रिक एसयूभी सुर्खेतमा औपचारिक रूपमा सार्वजनिक गरिएको छ। iCAUR सवारी साधनका लागि कर्णाली प्रदेशको आधिकारिक बिक्रेता स्वर्णिम बिजनेस कन्सर्न प्रा. लि. ले एक विशेष समारोहबीच उक्त सवारी सार्वजनिक गरेको हो।
कार्यक्रममा कर्णाली अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष भद्र भण्डारी, स्वर्णिम बिजनेस कन्सर्न प्रा. लि. का महानिर्देशक सैयद अनवर अली, निर्देशकहरू सोमराज थापा र रोशन सोब, साथै स्थानीय सञ्चारकर्मी, प्रतिष्ठित ग्राहक तथा एसपीजी अटोमोबाइल्स प्रा. लि. का नेतृत्व वर्गको उल्लेखनीय उपस्थिति रहेको थियो।
“Born to Play” भन्ने वैश्विक अवधारणामा आधारित iCAUR V23 एक रेट्रो–प्रेरित, पूर्ण विद्युतीय अफ–रोड एसयूभी हो। क्लासिक रग्ड डिजाइन र आधुनिक प्रविधिको संयोजन रहेको यो सवारीलाई परम्परागत पेट्रोल गाडीको दिगो तथा स्टाइलिश विकल्पका रूपमा प्रस्तुत गरिएको छ। यसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
iCAUR V23 मा ५९.९३ kWh क्षमताको LFP ब्याट्री र १०० किलोवाट मोटर जडान गरिएको छ, जसले एक पटकको फुल चार्जमा ४०१ किलोमिटर (CLTC) सम्मको रेन्ज दिने कम्पनीले जनाएको छ। क्लासिक गोलो हेडलाइट, २१० एमएम ग्राउन्ड क्लियरेन्स र आकर्षक “बक्सी” डिजाइनले यसलाई शहर र अफ–रोड दुवैका लागि उपयुक्त बनाएको छ।
यसमा १५.४ इन्चको प्रिमियम इन्फोटेनमेन्ट डिस्प्ले, लेभल–२ एडास (ADAS) सुरक्षा प्रणाली तथा पछाडिको सिट फोल्ड गर्दा ७४४ लिटरको विशाल ट्रंक स्पेस उपलब्ध हुने विशेषता रहेको छ।
कम्पनीका अनुसार, प्रिमियम लाइफस्टाइल सेगमेन्टमा प्रतिस्पर्धात्मक रूपमा प्रस्तुत गरिएको iCAUR V23 को डेलिभरी प्रि–बुकिङ गरेका ग्राहकहरूका लागि तत्काल सुरु गरिने छ। डेलिभरी प्रक्रिया एसपीजी अटोमोबाइल्सको आधिकारिक डिलर नेटवर्क अन्तर्गत स्वर्णिम बिजनेस कन्सर्न प्रा. लि. मार्फत सञ्चालन गरिने जनाइएको छ।






संवाददाता । शुक्रबार, माघ २३, २०८२ मा प्रकाशित