सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधिप्रति नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर सुर्खेतले गम्भीर चासो देखाएको छ।
हिजो कर्णाली प्रदेश सभामा बोल्दै सांसद कृष्णबहादुर जिसीले चेकपोस्टहरूमा पैसा असुलीको वेथितिले नागरिक तथा यातायात व्यवसायीलाई सास्ती दिएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।
यसै सन्दर्भमा आज नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर, सुर्खेतका प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिएका छन्।
एसपी रिजालले यदि कसैले यस्तो गलत कार्य गरेको पाइएमा कडा कारबाही गरिने स्पष्ट पारेका छन्। साथै, प्रदेशभर ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन आफू सक्रिय रूपमा लागिरहेको बताउँदै आफ्नो कार्यालय मातहतबाट यस्ता गतिविधि नभएको समेत बताएका छन्।
उनले कतै पनि गैरव्यावसायिक गतिविधि भएको पाइएमा तत्काल यस कार्यालयमा जानकारी गराउन आम सर्वसाधारणसँग अनुरोध गरेका छन्।






संवाददाता । शुक्रबार, चैत ०६, २०८२ मा प्रकाशित