सुर्खेत बसपार्कबाट सञ्चालन हुँदै आएका सार्वजनिक यातायात सेवा पुनः सञ्चालनमा आएका छन्। यातायात व्यवसायी र जिल्ला प्रशासनबीच सहमति भएपछि अवरुद्ध सेवा सञ्चालनमा ल्याइएको हो।
यसअघि १३ वटा यातायात प्रा.लि.हरूले संयुक्त रूपमा प्रहरीको ‘पक्षपातपूर्ण’ कारबाहीको आरोप लगाउँदै जिल्लाभर यातायात सेवा बन्द गर्ने चेतावनी दिएका थिए। व्यवसायीहरूले रातो प्लेटका निजी सवारीलाई बेवास्ता गरी सार्वजनिक सवारी र मजदुरमाथि मात्र धरपकड गरिएको भन्दै असन्तुष्टि जनाएका थिए।
जिल्ला प्रशासन कार्यालय सुर्खेतमा यातायात व्यावसायीहरुसंग भएको छलफलपछि यातायात सेवा व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउने उद्देश्यसहित विभिन्न निर्णयहरू गरिएका छन्।
सहमतिमा सार्वजनिक स्थानमा जथाभावी पार्किङ गर्न नपाइने, यात्रुले तोकिएको काउण्टरबाट मात्र टिकट लिनुपर्ने व्यवस्था मिलाउने, बसपार्क बाहिर यात्रु टिपेर पुनः बसपार्क ल्याउन नपाइने, बसपार्कबाट छुटेपछि सिधै तोकिएको गन्तव्यतर्फ जानुपर्ने, तोकिएको भाडादर अनुसार मात्र भाडा असुल गर्नुपर्ने, टिकट अनिवार्य रूपमा जारी गर्नुपर्ने, सिट संख्या भन्दा बढी यात्रु बोक्न नपाइने, अनुमति प्राप्त सिटमा कुनै हेरफेर गर्न नपाइने, दर्ता भएको प्रयोजन बाहेक सवारी प्रयोग गर्न नपाइने निर्णय भएका छ।
त्यसैगरी, चैत १९ गते भएको घटनाबारे जिल्ला प्रहरी कार्यालयमा निष्पक्ष छानबिन गरी निष्कर्ष निकाल्ने सहमति समेत भएको छ।
सहमति पश्चात् चैत २० गते बिहानदेखि नै बन्द रहेको सार्वजनिक यातायात सेवा पुनः सञ्चालनमा आएको प्रशासनले जनाएको छ।






संवाददाता । शुक्रबार, चैत २०, २०८२ मा प्रकाशित