Karnali Media
२०८३ असार २३ , मंगलबार

वडा सचिवलाई धम्की दिने खड्कामाथि कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन



प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दैलेखको दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै फोनमार्फत अश्लील भाषा प्रयोग गरी धम्की दिनेलाई कारबाही गर्न निर्देशन दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिवरप्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै वडा सचिवलाई धम्काउने प्रकाश खड्कालाई कारबाही गर्न सुरक्षा एवम् अनुसन्धान निकाय निर्देशन दिएका हुन्।


खड्काले सचिव भण्डारीलाई धम्की दिएको अडिओ कर्णाली मिडियाबाट सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्यस घटनाबारे चासो राखेको हो।

कर्मचारीको मनोबल उच्च राख्नु तथा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै सुशासन, विधिको शासन र प्रशासनिक अनुशासन कायम गर्न यस्ता गतिविधिमाथि कडा निगरानी आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : २०८३ जेठ २ गते शनिबार