सुर्खेत । वडालाई हरित र प्लास्टिकमुक्त बनाउन सेडाका विद्यार्थीहरूले सात बुँदे ज्ञापन पत्र बुझाएका छन् । विश्व वातावरण दिवस २०२६ को अवसरमा वीरेन्द्रनगर नगरपालिकाको ११ नम्बर वडा कार्यालयलाई विद्यार्थीहरूले ज्ञापन पत्र बुझाएका हुन् ।
वातावरण संरक्षण तथा हरित समुदाय निर्माणको माग गर्दै सोही क्षेत्रमा रहेको सेडा आवासीय विद्यालयका कक्षा ४ देखि १० मा अध्ययनरत विद्यार्थीहरूले वडा कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएका थिए ।
विद्यालयका विद्यार्थी प्रतिनिधि अनिल बुढाले वडा कार्यालयकी प्रतिनिधि प्रतिभा घिमिरेलाई ज्ञापन पत्र हस्तान्तरण गरेका थिए । ज्ञापन पत्रमा जलवायु परिवर्तन, प्लास्टिकजन्य प्रदूषण र जैविक विविधताको ह्रास जस्ता समस्याहरूले भावी पुस्तामाथि गम्भीर असर पारिरहेको भन्दै यसलाई वडा स्तरबाटै गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।
उनीहरूले यस्ता समस्याको समाधानका लागि स्थानीय तह, विद्यालय, समुदाय तथा नागरिकबिच सहकार्य आवश्यक रहेको समेत औँल्याइएका छन् । विद्यार्थीहरूले उक्त वडा क्षेत्रलाई प्लास्टिक र फोहोरमुक्त बनाउने दीर्घकालीन अभियान समेत सञ्चालन गर्न माग गरेका छन् ।
उनीहरूले वृक्षारोपण तथा संरक्षण कार्यक्रम र समुदायमा फोहोरको वर्गीकरण सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्न समेत माग गरेका छन् । यस्तै, सार्वजनिक स्थल, पार्क, नदी तथा खोलाको नियमित सरसफाइ र संरक्षणका लागि विशेष योजना निर्माण गर्न पनि माग गरेका छन् ।
वातावरण संरक्षणमा उत्कृष्ट योगदान पु¥याउने विद्यार्थी, विद्यालय र समुदायलाई सम्मान तथा प्रोत्साहन गर्ने व्यवस्था मिलाउन पनि विद्यार्थीहरूले आग्रह गरेका छन् । विद्यार्थीहरूले आफूहरू पनि वातावरण संरक्षण अभियानमा सक्रिय सहभागी रहने प्रतिबद्धता पनि जनाएका छन् ।
ज्ञापन पत्रमार्फत विद्यार्थीहरूले वातावरण संरक्षण तथा हरित विकासलाई प्राथमिकतामा राखी आफ्ना सुझावहरू कार्यान्वयनका लागि आवश्यक पहल गर्न वडा कार्यालयसँग आग्रह समेत गरेका छन् ।






संवाददाता । शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित