सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुर्खेतको प्रथम जिल्ला अधिवेशनबाट रमेशकुमार सापकोटा सर्वसम्मत रूपमा जिल्ला सभापतिमा चयन भएका छन्।
सुर्खेत क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सापकोटा पार्टीको जिल्ला नेतृत्वमा सर्वसम्मत चयन भएका हुन्। रास्वपाले देशभर जिल्ला अधिवेशनमार्फत संगठनलाई संस्थागत गर्ने अभियान सञ्चालन गरिरहेका बेला सुर्खेतमा पनि पहिलो जिल्ला अधिवेशन सम्पन्न भएको हो।
सापकोटा २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका थिए। उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई झण्डै १५ हजार मतान्तरले पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका थिए।
अधिवेशनबाट जिल्ला सभापतिको जिम्मेवारी सर्वसम्मत रूपमा टुंगिए पनि उपसभापति, सचिव, सहसचिव, कोषाध्यक्ष तथा सदस्यसहित अन्य पदाधिकारीहरूको चयन प्रक्रिया भने अझै बाँकी रहेको जनाइएको छ।







