Karnali Media
२०८३ असार २२ , सोमबार

संसद्‌मा शाहीले भने– नदीमा नागरिक गुहार मागिरहेका थिए, आकाशमा मन्त्रीको हेलिकप्टर उडिरहेको थियो



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले कर्णालीमा भएका नागरिकले विपद्को बेला राज्यको उपस्थिति महसुस गर्न नपाएको भन्दै संसद्‌मा आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद शाहीले कर्णाली नदीमा नागरिकहरू डुबेर जीवनको भिख मागिरहँदा सरकार र जनप्रतिनिधिहरू सत्ताको भागबन्डा र मन्त्रीको सवारीमा व्यस्त भएको भन्दै आलोचना गरे ।


‘आज म बोल्न उठेको छैन, पीडा बोलेको छ । कर्णालीको करुण चित्कार यो संसद्‌मा गुन्जिएको छ । उद्धारका लागि गुहार मागिरहेका नागरिकको डाकोले नदीको किनार थर्कियो, तर राज्यको कानसम्म पुगेन,’ शाहीले भने ।
कर्णाली नदीमा गाडी खसेर मानिसहरू पानीको बिचमा ‘बचाइदिनुहोस् भन्दै चिच्याइरहँदाको बीभत्स दृश्य स्मरण गर्दै शाहीले राज्यको संवेदनहीनतामाथि प्रश्न उठाए । ‘नदीको बिचमा मानिसहरू जीवनको भिख मागिरहेका थिए, त्यही बेला आकाशमा हेलिकप्टर देखियो । तर, त्यो उद्धारका लागि थिएन, केन्द्रीय मन्त्रीको सवारीका लागि थियो,’ उनले भने, ‘एकातर्फ मन्त्री हेलिकप्टरमा सयर गरिरहेका थिए, अर्कातर्फ प्रदेशसभामा भाग पुगेन भन्दै सांसदहरू झगडा गरिरहेका थिए । तर, कर्णालीका निरीह नागरिक भने उद्धार नपाएर नदीमा बगिरहेका थिए ।’
दुर्घटनास्थलमा सुरक्षाकर्मी पुग्न ५ घण्टा लागेको र उनीहरूसँग आवश्यक उद्धार सामग्री समेत नभएको भन्दै शाहीले आक्रोश पोखे । ‘सुरक्षाकर्मी पुग्दा धेरै ढिलो भइसकेको थियो । उद्धार गर्न होइन, मुचुल्का उठाउन पुगे जस्तो भयो,’ उनले भने, ‘यो दुर्घटना मात्र होइन, राज्यको असफलता हो ।’ सो घटनामा ६ जना नागरिक अझै बेपत्ता रहेको उनले जानकारी दिए ।
आफूले पनि सो दुर्घटनामा आफन्त र परिवारका सदस्य गुमाएको बताउँदै शाहीले भने, ‘के कर्णालीका जनता यो देशका नागरिक होइनन् ? यदि कर्णाली पनि नेपाल हो भने, विपद्को बेला राज्य किन अनुपस्थित हुन्छ ? विभेद किन ?’
सांसद शाहीले कर्णालीका नागरिकको ज्यानको मूल्य कति हो भन्दै सरकारसँग स्पष्ट जवाफ माग गरे । उनले सभामुखलाई विशेष अनुरोध गर्दै सरकारका नाममा तत्काल रुलिङ गर्न, घटनाको सत्य तथ्य सार्वजनिक गर्न, उद्धारमा ढिलाइ गर्नेमाथि कारबाही गर्न र पीडित परिवारलाई उचित राहतको व्यवस्था गर्न माग गरे ।

प्रकाशित मिति : २०८३ असार २२ गते सोमबार