Karnali Media
२०८३ साउन ६ , बुधबार

गगनलाई पूर्णबहादुरको सन्देश : भ्रम नहोस् निष्क्रिय बस्नेवाला छैनौं, युवालाई अघि सारेर हिँड्दैछौं



काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा सम्मानका लागि कहिल्यै सम्झौता नगर्ने बताएका छन् ।

पार्टी संस्थापन इतर समूहले बीपी स्मृतिको अवसरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टी सभापति गगनकुमार थापाले नचाहेसम्म पार्टी एक हुन नसक्ने बताए ।

त्यस्तै उनले मिलाउनेतर्फ पार्टी सभापतिसहितका नेताहरूको ध्यान नगएको भन्दै आपत्ति जनाए ।
‘कोही पनि निष्क्रिय बस्नेवाला छैनौं । हामी युवालाई अघि सारेर युवाहरूको रक्षा कवज भएर हिँड्न तयार छौं । कहिँ पनि भ्रम नहोस्,’ उनले भने, ‘यी नेता आफैँ हुन खोजेका छन् भन्ने भ्रम नहोस् । नेपाली कांग्रेस स्थापनाकालदेखि पहिलोपटक प्रतिकूल अवस्थामा पुगेको छ ।सम्मानका लागि पञ्चायतमा पनि लडियो । बरु मर्न तयार भइन्छ सम्मानमा सम्झौता गर्न सक्दैनौं ।’


उनले पार्टी एकताका लागि जोड दिँदा बार्गेनिङको ट्याग लगाइएको भन्दै आपत्ति जनाए । उनले भने, ‘हामी विशेषलाई स्वीकार्न तयार । गगनजी नेतृत्वलाई पूर्णता दिन १४औंको केन्द्रीय समितिलाई मिलाएर पूर्णता दिनुस्, हामीलाई जोड्नुस् भन्दा बार्गेनिङ हुन्छ ?’

उनले विशेष महाधिवेशनलाई पार्टीको विधानविपरीत भएको पनि टिप्पणी गरे ।त्यस्तै उनले विशेष पक्षका ५४ प्रतिशत र नियमित महाधिवेशनका ४६ प्रतिशतलाई जोड्न सभापति गगनकुमार थापा तयार नभएसम्म सम्भव नहुने बताए ।

प्रकाशित मिति : २०८३ साउन ६ गते बुधबार