Karnali Media
२०८३ साउन २१ , बिहीबार

भदौमा ८ जिल्लाका करिब ५०० परिवारलाई लालपूर्जा, सुर्खेत पनि समेटियो



सुर्खेत । सरकारले करिब पाँच सय अव्यवस्थित बसोबासी, सुकुमबासी र भूमिहीनलाई आगामी महिना लालपूर्जा वितरण गर्ने भएको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार ८ जिल्लाका करिब पाँच सय परिवारलाई लालपूर्जा वितरण गर्न लागिएको हो ।

मन्त्री प्रतिभा रावलले प्रतिनिधि सभाको रोष्टम बाट यो जानकारी दिएकी हुन् ।

उनकाअनुसार अव्यवस्थित बसोबासी, सुकुमबासी र भूमिहीनको १२ लाख संख्या विवरण छ ।


‘चारवटा जिल्लामा लालपूर्जा वितरण गरिसकेका छौं । अब भदौभित्र उदयपुरमा ३ सय, तनहुँमा १५, मकवानपुर १०६, कञ्चनपुर १७, धनुषा ५, दाङमा १४ वटा, बर्दिया ३० र सुर्खेतमा १८ वटा वितरण गर्नेगरी मन्त्रालयले काम गरिरहेको छ,’ उनले भनिन् ।

मन्त्री रावलले अव्यवस्थित बसोबासी, सुकुमबासी र भूमिहीनको पहिचान र व्यवस्थापनमा सरकार गम्भीर, संवेदनशील रहेको बताइन् । उनले लालपूर्जा वितरणका लागि स्थानीय सरकारको सहयोग पनि चाहिने बताइन् ।

‘नेपाल सरकारको प्राथमिकता जो जहाँ बसिरहेको छ, भोगचलन गरेकै ठाउँमा जग्गा दिने हो, त्यही तयारी गरिरहेको छ । तर, नकारात्मक सूचीमा परेको हकमा ठाउँमा अर्को ठाउँमा दिने हो,’ उनले भनिन् ।

प्रकाशित मिति : २०८३ साउन २१ गते बिहीबार