सुर्खेत । कर्णाली अटोमोवाईल्स एशोसिएशन नेपालको चौंथो वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार सुर्खेतमा सम्पन्न भएको छ। साधारणसभाबाट इन्द्रबहादुर खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरिएको छ।
नवनिर्वाचित अध्यक्ष खड्कालाई निमित्त अध्यक्ष भद्र भण्डारीले पद हस्तान्तरण गरेका छन्। पद हस्तान्तरण गर्दै भण्डारीले कर्णालीमा अटोमोवाईल्स एशोसिएशन स्थापना गर्दाका सुरुवाती दिनहरू स्मरण गर्दै संस्थालाई प्रभावकारी रूपमा अघि बढाउन सबैको निरन्तर सहयोग र सहकार्य महत्वपूर्ण रहेको बताए।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा इन्द्रबहादुर खड्का, उपाध्यक्षमा प्रकाशकुमार शाही, रामबहादुर खड्का र गोपाल पौडेल, महासचिवमा सैयद अन्वर अलि, सचिवमा अर्जुन दाहाल तथा कोषाध्यक्षमा राजन ओली चयन भएका छन्। त्यस्तै सदस्यहरूमा सूर्य थापा, उमेश विष्ट, हरि पौडेल र जनकराज गिरी चयन भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द रिजालले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै सबै पक्ष बीचको सहकार्य र समन्वयबाट कर्णालीको विकासलाई थप गति दिन सकिने बताए।
उनले अटोमोवाईल्स क्षेत्रसँग सम्बन्धित विषयमा नयाँ कार्यसमितिसँग आवश्यक सहकार्य र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे। रिजालले कर्णालीमा अटोमोवाईल्स क्षेत्रको विकासमा निमित्त अध्यक्ष भद्र भण्डारीले पुर्याएको योगदानको समेत प्रशंसा गरे। उनले आफू कर्णालीमा ट्राफिक प्रमुख भएर आएको सुरुवातदेखि नै ट्राफिक प्रहरीप्रति नागरिकले हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन प्रयासरत रहेको बताए। उनले ट्राफिक व्यवस्थापन र सडक सुरक्षाका क्षेत्रमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे।
नवनिर्वाचित अध्यक्ष इन्द्रबहादुर खड्काले कर्णालीका अटोमोवाईल्स् क्षेत्रसँग आबद्ध सबै व्यवसायी तथा सरोकारवालालाई समेटेर संस्थालाई थप प्रभावकारी रूपमा अघि बढाउने बताए। उनले अटोमोवाईल्स क्षेत्रका समस्या समाधान, व्यवसायीको हित संरक्षण तथा क्षेत्रको विकासका लागि सबैसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।













