दैलेख । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा दैलेख जिल्लाभरबाट १७ सय ६६ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्य पदका लागि उक्त संख्यामा उम्मेदवारी परेको हो। उम्मेदवारी दिएका मध्ये बैशाख ३० गते हुने निर्वाचनबाट चार सय ७२ जना जनप्रतिनिधि चयन हुनेछन् । ११ जना पालिका प्रमुख, ११ उपप्रमुख, ९० वडा अध्यक्ष, ९० वडा महिला सदस्य, ९० दलित महिला सदस्य र १८० जना खुला सदस्य चयन हुनेछन् ।
दैलेखमा ४ नगरपालिका र ७ गाउँपालिका गरी ११ स्थानीय तह तथा ९० वडा रहेका छन् । जिल्ला निर्वाचन कार्यालय दैलेखका अनुसार सबै भन्दा बढी दुल्लु नगरपालिकामा २२८ जना उमेदवार छन् । जसमा पालिका प्रमुखमा ६, उपप्रमुखमा ६, वडा अध्यक्षमा ५२, वडा महिला सदस्यमा ४१, दलित महिला सदस्यमा ३४ र खुला सदस्यमा ८९ जनाले उम्मेदवारी दिएका छन् । सबैभन्दा कम डुंगेश्वर गाउँपालिकामा पालिका प्रमुखमा ४, उपप्रमुखमा ७, वडा अध्यक्षमा २५, वडा महिला सदस्यमा १८, दलित महिला सदस्यमा १५ र खुला सदस्यमा ३६ सहित जम्मा १०६ जना उम्मेदवार छन् ।
पालिका प्रमुखको लागि मात्र जिल्लामा सबैभन्दा धेरै महाबु र गुराँस गाउँपालिकामा समान ७/७ जना उम्मेदवार चुनाबी मैदानमा छन् ।
जगत सापकोटा । शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित