Karnali Media
२०८३ भदौ ११ , बिहीबार

राहत, उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति बनाउने रविको प्रस्ताव



काठमाडौं । सर्वदलीय बैठकमा राहत, उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति बनाउने प्रस्ताव प्रस्तुत भएको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले नै यस्तो प्रस्ताव राखेका हुन् ।

सिंहदरबारमा सर्वदलीय बैठक जारी छ । उक्त बैठकमा सभापति लामिछानेले भनेका छन्, ‘राहत, उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति वा संसदीय वा सर्वपक्षीय समिति गठन गरौं । जसले सरकारलाई निर्णय गर्न सहज होस् ।’

सरकारको राहत र उद्धार कोषलाई एकद्वार मानेर सबै दल एक ठाउँमा उभिएर सहयोग गर्ने पनि उनको आग्रह रहेको छ ।

सर्वदलीय बैठकमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही, जसपा नेपालका नेता महन्थ ठाकुर, लगायत उपस्थित छन् ।


अर्थमन्त्री स्वर्णिम वाग्ले, रास्वपा संसदीय दलका नेता गणेश पराजुली, रास्वपाका महामन्त्री विपिनकुमार आचार्य, रास्वपाका मुख्य सचेतक कबीन्द्र बुर्लाकोटी, रास्वपाका प्रवक्ता जगदिश खरेल लगायत उपस्थित रहेका छन् ।

सर्वदलीय बैठकको सुरुआत गर्दै रास्वपा सभापति लामिछानेले दलगत पहिचान निषेध गरेर राहत, उद्धार र पुननिर्माणमा सबै राजनीतिक दल लाग्नुपर्ने आह्वान पनि गरेका छन् ।

सामाजिक सञ्जालको सही सदुपयोगका लागि पनि सबै एक ठाउँमा उभिनुपर्ने सभापति लामिछानेको आग्रह छ ।

बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुषपकमल दाहाल प्रचण्डले विपद्पछिको अवस्थामा सबै एकैसाथ अगाडि बढ्नुपर्ने बताए । यसका निम्ति आफूहरू तयार रहेको र खोज तथा उद्धारका साथै अन्य मानवीय सहयोगमा पार्टीका नेतारकार्यकर्ता खटिइसकेको बताएका छन् ।

प्रकाशित मिति : २०८३ भदौ ११ गते बिहीबार