Karnali Media
२०८३ जेठ २६ , मंगलबार

बलात्कार मुद्दामा हदम्याद खारेजको माग गर्दै सुर्खेतमा प्रदर्शन

युवाहरुले 'कानुन माथी को छ, बलात्कारी जो छ', 'निर्दोषलाई यातना दोषीलाई उन्मुक्ति किन ?', 'मेरो स्कर्ट छोटो कि तेरो सोच ?' जस्ता प्लेकार्डहरु हातमा बोकेका थिए ।


सुर्खेत । महिनाको पहिलो शनिबार वीरेन्द्रनगरको मुख्य बजार बन्द हुने गर्छ। जसअनुरुप आज जेष्ठ ७ गते सुर्खेत बजार बन्द भएर दिउँसोसम्म शुनसान थियो। घडीमा साँझको ४ बजेपछि वीरेन्द्रनगरको मुख्य चोक, वीरेन्द्रचोकमा एक हुल युवाहरु भेला हुन थाले। भेला भएका युवाहरुले चर्को स्वरमा ‘कानुन माथी को छ बलात्कारी जो छ’, ‘निर्दोषलाई यातना दोषीलाई उन्मुक्ति किन ?’, ‘मेरो स्कर्ट छोटो कि तेरो सोच ?’ जस्ता प्लेकार्डहरु हातमा बोकेर एक हुल युवाको समुह सुर्खेतको वीरेन्द्रनचोकमा जम्मा भयो । हातमा प्लेकार्ड बोकेर एक पछि अर्को युवा थपिँदै गए । विस्तारै ठूलो समूह जम्मा भयो । भिडबाट एक युवती कराइन् ‘बलात्कार मुद्दामा हद म्याद खारेज गर’ । भिडले उनलाई साथ दिदै नारा लगाए, ‘खारेज गर…।

यो प्रदर्शन ८ वर्षअघि जबर्जस्ती करणीमा परेकी युवतीको न्यायको माग गर्दै गरिएको प्रदर्शन हो । ती युवतीले सामाजिक सञ्जालमार्फत सौन्दर्य प्रतियोगिताको सञ्चालकबाट बलात्कार भएको खुलासा गरेपछि वीरेन्द्रनगर सुर्खेतमा बलात्कारीलाई कारबाही गर्न कानुनमा भएको हदम्याद हटाउन माग गर्दै प्रदर्शन भएको हो ।

ती युवतीले भिडिओमार्फत आफू १६ वर्षको नाबालिग हुँदा ८ वर्षअघि काठमाडौंको एक होटलमा कार्यक्रम आयोजकले बेहोस हुने पेय पदार्थ खुवाएर बलात्कार गरेको सामाजिक संजालमा बताएकी थिइन् ।

सुर्खेतका युवाहरुले स्वतन्त्र रुपमा आयोजना गरेको दबाब मुलक कार्यक्रममा सयौं जना युवाहरु सहभागी भएका थिए । प्रदर्शनमा सहभागीहरुले न्यायको लागि सामाजिक सञ्जालमा अभियान चलाउनु भन्दा सडक मै आएर प्रदर्शन गर्दा उपयुक्त हुने ठानी कार्यक्रम गरेको बताएका छन् । बलात्कार सम्बन्धी मुद्दामा कानुनमा भएको १ वर्ष हदम्याद समेत खारेज गर्नुपर्ने उनिहरुको माग छ । त्यस्तो हदम्यादका कारण बलात्कारीले सजिलै उन्मुक्ति पाउने उनिहरुले बताउछन् । यो प्रदर्शन नेपालभरका बिभिन्न स्थान भैरहेको छ ।


नेपालको मुलुकी अपराध संहिता-२०७४ मा बलात्कार कसुरबारे उजुरीको हदम्याद तोकिएको छ । यौनजन्य हिंसा र दुर्व्यवहारको हकमा अपराध भएको मितिले एक वर्षपछि उजुरी नलाग्ने व्यवस्था छ ।

सुर्खेतमा भएको प्रदर्शनका केहि तस्वीरहरु

 

प्रकाशित मिति : २०७९ जेठ ७ गते शनिबार