सुर्खेत । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतको आदेशको समर्थनमा शनिबार वीरेन्द्रनगर सुर्खेतको वीरेन्द्रचौकमा ‘नेपालीज युथ फर क्लाईमेट एक्सन’ को आयोजना विभिन्न बिधालयका बिद्यार्थी तथा युवाहरुले अदालतको आदेशलाई धन्यवाद कार्यक्रम गरेका छन ।हातमा ‘वातावरण संरक्षण गरौ’, ‘धन्यवाद सर्वोच्च अदालत’, ‘अबको बिकास प्रकृति सङ्गको बिकास’, ‘भविष्यको लागि जंगल’, जस्ता प्लेकार्डहरु बोकेर सर्वोच्च अदालतलाई धन्यवाद दिदै प्रदर्शन गरिएको थियो । युवाहरूले दिप ‘धन्यवाद सर्वोच्च अदालत’ भन्दै वीरेन्द्रचौकमा दिप प्रज्वलन पनि गरेका थिए ।
बाराको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण प्रक्रिया रोक्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको थियो । अदालतको बृहत पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सबै प्रक्रिया बन्द गरी विकल्प खोज्न सरकारको नाममा परमादेश जारी गरेको हो ।
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रियाका लागि सरकारले तोकेको चारकिल्ला, गरेका सबै निर्णयहरु खारेज गर्दै अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता भए अर्को विकल्प खोज्न पनि परमादेश जारी गरेको छ । चारकोसे झाडीको बीचमा रहेको निजगढको जङ्गल मासेर विमानस्थल बनाउन लागिएको भन्दै वातावरणविद्हरुले विरोध जनाएका थिए । करिब २४ लाख सालको रुख काटेर विमानस्थल बनाउन लागेको कारण पानीको श्रोत, वातावरण र चराचुरुङ्गी समेतलाई असर गर्ने भन्दै विमानस्थल नबनाउन सर्वोच्च अदालतमा मुद्दा समेत परेको थियो ।
संवाददाता । शनिबार, जेठ १४, २०७९ मा प्रकाशित