सुर्खेत (वीरेन्द्रनगर) –कुनै समय प्रत्येक घन्टा ठूलो आवाज दिएर नागरिकलाई समयको जानकारी दिने घन्टाघरका घडी बर्षौं देखि आवाजविहीन भएका छन् । यो घन्टाघर सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ६ मा पर्दछ ।
४ वटै भित्ताबाट समय हेर्न मिल्ने र ठूलो आवाजमा सबैलाई समयको जानकारी दिने उक्त घडीका सुई बिग्रिएको भन्ने भनाई छ । तर त्यस्को मर्मत तर्फ भने कसैको पनि ध्यान जान सकेको छैन ।
कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको प्रमुख पर्यटकीय केन्द्रका रूपमा रहेको घन्टाघरका घडी बिग्रँदा यसको स्वरूप नै बिग्रिएको छ । बिग्रिएका घन्टाघरका घडी बनाउन कसैले चासो नदिँदा घन्टाघर नाममा मात्रै सिमित रहेको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको प्रमुख पर्यटकीय स्थल घन्टाघरमा रहेको संरचनाहरु पछिल्लो समय झन जीर्ण बन्दै गएका छन ।
घन्टाघरमा पर्यटकहरु गएर विरेन्द्रनगरको सुन्दर मनोरम दृश्य अलोकन गर्न जाने गर्छन् तर घन्टाघरको टुप्पोमा जाने भर्याङ्को अवस्था पनि बिग्रदो छ जस्ले गर्दा बालबालिकाहरुलाई घन्टाघर अबलोकन गर्न समस्या भोग्नु परिरहेको छ ।
पछिल्लो समय धेरै नयाँ संरचना थप र व्यवस्थित गरिए पनि प्रमुख घन्टाघरको घडी मर्मतमा कसैको चासो देखिएको छैन ।
किरण रेग्मी । आइतबार, जेठ १५, २०७९ मा प्रकाशित