दैलेख । दैलेखको गुराँस गाउँपालिका–८ नम्बर वडा कार्यालयले जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलह बस्दै आएका राउटेलाई तीन महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
गुराँस गाउँपालिका– ८ का नवनिर्वाचित वडाध्यक्ष दीपेन्द्र ओलीको टोलीले सुरक्षा भत्ता वितरण गरेको हो। फिरन्ते जीवन बिताइरहेका राउटे समुदायको पाँच वर्षअघि गुराँस गाउँपालिका–८ का स्थानीय नागरिकका रुपमा परिचयपत्र वितरण गरेयता सङ्घीय सरकारले गुराँस गाउँपालिका–८ नम्बर वडा कार्यालयमार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
हरेक २–३ महिनामा बस्ती सर्दै गर्ने क्रममा जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलह पुगेका ४० परिवारका १ सय ४४ जनालाई माघ, फागुन र चैत समेत तीन महिनाको प्रतिव्यक्ति चार हजारका दरले सुरक्षा भत्ता वितरण गरिएको गुराँस गाउँपालिका– ८ का वडासचिव सुस्मिता खड्काले जानकारी दिनुभयो ।
कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट आसपासमा हरेक २–३ महिनामा बस्ती सर्दै गर्ने राउटे समुदाय धेरैजसो दैलेखमा बस्ने गरेकोले सङ्घीय सरकारले २०७४ असारदेखि गुराँस गाउँपालिका–८ नम्बर वडा कार्यालयमार्फत राउटे समुदाय जहाँ पुग्छन् त्यही पुगेर सुरक्षा भत्ता वितरण गर्न थालेको हो ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । आइतबार, जेठ १५, २०७९ मा प्रकाशित